
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेरै विपक्षी गठबन्धनको बैठकमा गएको बताएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले नेपालले बूढानीलकण्ठमा जानु अघि आफूसँग सल्लाह लिएको बताएको एक नेताले जानकारी दिए ।
‘माधवजी विपक्षी गठबन्धनको बैठकमा जानुभयो भनेर केही शंका गरिरहनु पर्दैन । सरकार दायाँबायाँ हुन्न । यो कुनै नौलो कुरा होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मसँग सल्लाह गरेरै उहाँ उता जानु भएकोले त्यस्तो केही अप्ठ्यारो ल्याउने गरी जानुभएको होइन ।’
प्रचण्डले बिहीबार विराटनगर पुगेर भने आफूसँग सल्लाह गरेर गएकोबारे केही बोलेका थिएनन् ।
समाजवादीका अध्यक्ष नेपाल पहिले पनि गएको र अहिले पनि गएको भन्दै उनले प्रतिक्रिया दिएका थिए । फोन गरेर बुझेको भन्दै प्रचण्डले नेपालले समीकरण नछोड्ने बताएका थिए ।
बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी मोर्चाको बैठकमा नेपाल पनि सहभागी थिए ।