
सिन्धुपाल्चोककी एक विवाहित महिला टिकटक चलाउँदै गर्दा म्याग्दीका सन्तोष किसानसँग जोडिइन् । लामो कपाल पालेका र अग्लो ज्यान भएका किसानसँग उनी फेसबूक म्यासेन्जरमा गफिन थालिन् ।
वैदेशिक रोजगारीका लागि कतार पुगेका सन्तोषले आफू नेपाल आएर भेट्ने वचन पनि दिए । नेपाल फर्किएपछि ती महिला र सन्तोषबीच भेट भयो ।
विवाहित महिलाकोे १२ वर्षीय छोरा पनि छ । सिन्धुपाल्चोकमै बस्ने उनी सन्तोषलाई नै भेट्न काठमाडौं आइन् । कोटेश्वरको गेस्ट हाउसमा सन्तोषसँगै रात बिताइन् । एक रात कोटेश्वरमा बिताएपछि भोलिपल्टै सिन्धुपाल्चोक पुगिन् । सन्तोष पनि म्याग्दी पुगे ।
काठमाडौं आउँदा ती महिलासँग भेट हुने भएपछि सन्तोषले म्याग्दी–काठमाडौं चल्ने बसमा सहचालकको रूपमा काम गर्न थाले ।
गएको दशैंअघिको यो घटनाले निरन्तरता पाउन थाल्यो । तीनपटकसम्म सन्तोष र ती महिलाले बालाजु, कोटेश्वर, गोंगबुका गेस्ट हाउसमा रात बिताए ।
सन्तोषले मोबाइलमा रिचार्ज हालिदिन भन्थे । महिलाले सय/दुई सय हालिदिन्थिन् । एकपटक घर बनाउन लागेको भन्दै सन्तोषले महिलासँग ६० हजार मागे ।
ती महिलाले त्यति पैसा आफूसँग नभएको बताएपछि सन्तोषको बार्गेनिङ शुरू भयो । महिलालाई धम्क्याउँदै भने, कि पैसा देऊ, होइन भने काठमाडौं आएर मसँग बस्नुपर्छ । उनी काठमाडौं आइन् । बालाजुस्थित गेस्ट हाउसमा दुवै सँगै बसे । ऋण खोजेर ल्याएको भन्दै सन्तोषलाई ६० हजार दिएर सिन्धुपाल्चोक फर्किइन् ।
एकाएक बुधबार अपराह्न सन्तोषले पीडितलाई फोन गरेर घर बनाउन पुगेन, २ लाख लेऊ भने । महिलाले त्यति ठूलो रकम आफूसँग नभएको बताइन् ।
सन्तोषले सँगै रात बिताएका अश्लील फोटो र भिडियो आफूसँग रहेको र ती सामाग्री परिवारका सदस्यलाई पठाइदिने भनेर धम्क्याए ।
‘पैसा दिने भए देऊ, नत्र हामीले बिताएका पलपलको फोटो र भिडियो छ, तिम्रो श्रीमान र छोरालाई पठाइदिन्छु,’ भन्दै सन्तोषले धम्की दिएपछि महिलाले प्रहरीमा उजुरी लिएर जाने निधो गरिन् ।
बुधबारै उनी मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सन्तोषविरुद्ध उजुरी लिएर पुगिन् । प्रहरीले मोबाइलको लोकेसन पत्ता लगायो । प्रहरी योजनाअनुसार गोंगबुस्थित नयाँ बसपार्कमा रहेका सन्तोषलाई महिलाले फोन गरेर पैसा लिन बोलाइन् । सन्तोष खुसी हुँदै पैसा लिन पुगेका बेला प्रहरीले समात्यो ।
सन्तोष र महिलालाई सँगै राखेर अनुसन्धान गर्दा प्रहरी चकित परे । शुरूमा महिलाले नै पोल खोलिन् । भनिन्, ‘सन्तोषको टिकटक धेरै राम्रो लाग्थ्यो । मैले लभ साइन पठाइदिन्थेँ। मेरो टिकटकमा पनि उसले लभ साइन पठाइदिन्थ्यो ।’
दुवैजना एक आर्कासँग टिकटकमै लाइभ च्याट गर्न थाले । फेसबूकमा साथी बने । म्यासेन्जरमा पनि गफ हुन थाल्यो । श्रीमान नभएको र १२ वर्षीय छोरा स्कूल गएका बेला उनी र सन्तोष गफिन्थे ।
सन्तोषले योजनाअनुसार बार्गेनिङ गर्ने मनसायले अश्लील फोटो र भिडियो खिचेका थिए । त्यसलाई सामान्य रूपमा लिँदा उनी अहिले पछुताउनुपरेको छ । परिवारबाट विछोडको अवस्था सिर्जना हुने स्थिति छ ।
अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेका अनुसार सन्तोषले योजना अनुसार नै महिलालाई फसाएका हुन् । ‘बुधबार पीडित आफैं प्रहरीमा आएर उजुरी दिएपछि हामीले सन्तोषलाई पक्राउ गरेका हौं,’ घिमिरेले भने, ‘श्रीमान र छोरा समेत रहेकी पीडित महिला आफू सम्हालिन नसकेर विचलित हुन पुगेकी हुन् ।’
अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले सामाजिक सञ्जालले ल्याएको विकृतिमध्ये यो घटना पनि एउटा उदाहरण भएको बताए ।
‘श्रीमान र हुर्किँदै गरेको छोरा छाडेर सिन्धुपाल्चोकदेखि काठमाडौं आएर परपुरुषसँग रात बिताएको घटनालाई सामान्य लिन मिल्दैन,’ भट्टराईले लोकान्तरसँग भने, ‘क्षणिक मजाका लागि लिइएको फोटो र भिडियो नै ती महिलाका लागि अभिशाप बन्न पुग्यो ।’
उनी अहिले सिन्धुपाल्चोक फर्किसकेकी छिन् ।
अश्लील भिडियो च्याटमा नेपाली बालबालिका र युवती
अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्दै जाँदा यौन क्रियाकलापसँग सम्बन्धित अश्लील भिडियो च्याटमा नेपाली बालबालिका र महिलाहरूको संलग्नता भेटेको छ ।
‘स्ट्रिप च्याट : फ्री लाइभ सेक्स क्याम्स एन्ड एडल्ट च्याट विथ नेकेड गर्ल’ नामक पेजमा थुप्रै नेपाली बालबालिका र युवतीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
विश्वका अश्लील पेजहरूमध्ये यो पेज पनि २१८ औं स्थानमा रहेको पाइएको छ । यो पेजमा शुरूमा एकाउन्ट खोल्ने र पछि ग्राहकहरूसँग कुरा गरेर टोकन लिएपछि मात्रै बालबालिका र युवतीहरूले आफ्नो यौनांग प्रदर्शन गर्ने गरेको पाइन्छ । अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीका अनुसार अहिले पक्राउ परेकी सिन्धुपाल्चोककी– १९ वर्षीया अञ्जली अधिकारी (नाम परिवर्तन)सहित थुप्रै जिल्लाका बालबालिका र युवतीहरू यो पेजमा आबद्ध छन् ।
‘नाम फेरेर बालबालिका र युवतीहरू यो पेजमा आबद्ध भई ग्राहकहरूलाई च्याटमार्फत आफ्नो यौनांग प्रदर्शन गर्ने गरेको देखियो,’ रेग्मीले भने, ‘आर्थिक अभावमा रहेका बालबालिका र युवतीहरू पैसा आउने भएपछि पेजमा आबद्ध रहेर क्रियाकलाप गर्ने गरेको देखियो ।’
उक्त पेजमा बालबालिका र युवतीले गरेका अश्लील हर्कतलाई जोडेर लामो भिडियो बनाउने र बजारमा बिक्री समेत गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
एसपी रेग्मी बालबालिकालाई मोबाइल दिँदा उनीहरूका गतिविधिमाथि अभिभावकले निगरानी गर्नुपर्ने बताउँछन् ।
‘यो घटनाले सोच्न बाध्य बनायो, नेपाली बालबालिका र युवती कसरी यस्ता गतिविधिमा संलग्न देखिए भनेर हामी अचम्ममा परेका छौं,’ उनले भने ।
अनुसन्धान कार्यालयले अञ्जलीलाई परिचालन गर्ने व्यक्तिको समेत खोजी गरिरहेको छ ।