काठमाडौं २ कात्तिक– हास्य व्यंग्य मार्फत भ्रष्टाचार र कुरीतिविरुद्ध प्रहार गर्दै आएको सिस्नु पानीले यसपटक पनि तिहारको अबसरमा घोचपेचको देउसी मनाएको छ ।

प्रमुख दलका शीर्ष नेतालाई समेत उपस्थित गराएर सिस्नुपानीले बुधवार प्रज्ञा प्रतिष्ठानमा देउसी खेलेको हो । सिस्नु पानीको देउसीको प्रहार वामपन्थी गठबन्धन, स्थानीय चुनावमा कांगे्रस माओवादी तालमेल तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध केन्द्रित थियो ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक गोविन्द पोखरेल र नेपाल आयल निगमका निलम्वित कार्यकारी निर्देशक गोपाल खड्का पनि सिस्नुपानीको निसानामा थिए ।
प्रचण्डप्रति सिस्नुपानीको प्रहार यस्तो थियो: ‘गर्मीहुदा रुखतिर जाडो हुँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान धामतिर’
***
‘केपी ओली प्रचण्ड मिले भन्छन् रातारात
हिजो सम्म काटाकाट आज चाटाचाट’
***
देउसी कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागि भएका थिए । सिस्नुपानीले नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र कांग्रेस युवा नेता गगन थापाप्रतिपनि व्यग्य प्रहार गरेको छ ।
बाबुरामको नयाँ पसल बर्ष दिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घर न घाट भो ।
***
समाजवादी बाटोमा देउवा इटा थप्दैछन्
खुमबहादुर टिकट बाँढ्छन् गगन थाप्दैछन् ।