
काठमाडौं, २ कात्तिक — पाकिस्तानको भ्रष्टाचारविरोधी अदालतले बिहीवार पूर्वप्रधानमन्त्री नवाज शरिफ, उनकी छोरी मर्यम र ज्वाईं सफ्दरलाई एभनफील्ड सम्पत्तिमा भ्रष्टाचारको दोषी ठहर गरेको छ ।

दोषी ठहर भएपछि मर्यमले न्याय प्रणालीको मजाक कसैले उडाउनु नहुने बताइन् ।
भ्रष्टाचारविरोधी अदालतले सर्वोच्च अदालतको आदेशपछि यो मुद्दा हेरिरहेको थियो । नवाजमाथि फौजदारी अपराध ठहर हुनु उनका लागि ठूलो क्षति हो ।
सर्वोच्चले शरिफलाई जुलाई २८ मा प्रधानमन्त्री पदका लागि अयोग्य घोषित गरेपछि भ्रष्टाचारविरोधी अदालतमा मुद्दा दायर भएको थियो ।
अक्टोबर १३ अर्थात् ६ दिनअघि नै न्यायाधीश मोहम्मद बशिरले शरिफ, उनकी छोरी र ज्वाईंमाथि भ्रष्टाचार ठहर गर्न लागेको भएपनि उनको दलका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएपछि फैसला सारिएको थियो ।
शरिफको परिवारले यी मुद्दाहरू राजनीतिक रूपमा अभिप्रेरित रहेको बताएका छन् ।
दोषी ठहरिएपछि शरिफ कारागार जाने सम्भावना बढेर गएको छ ।
एजेन्सी