२२ जेठ २०८३, शुक्रबार

चीनमा कम्युनिस्ट पार्टीको महाधिवेशन, नेपालमा के प्रभाव पर्ला ?

कात्तिक २०, २०७४
 चीनमा कम्युनिस्ट पार्टीको महाधिवेशन, नेपालमा के प्रभाव पर्ला ?

काठमाडौं, २ कात्तिक– उत्तरी छिमेकी मुलुक चीनमा बुधवारदेखि चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन शुरु भएको छ । राजधानी बेइजिङको ‘ग्रेट हल अफ दि पिपुल’मा जारी चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनले पाँच वर्षका लागि पार्टीको नीति र नेतृत्व चयन गर्नेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीको सर्वाेच्च निकाय नेसनल कंग्रेसले चीनलाई आगामी दिनमा कस्तो मार्गमा लैजाने भनी मार्गनिर्देश गर्नेछ । महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति सी चिनफिङले आफ्नो कार्यकालको उपलब्धि सुनाएका थिए ।

चीनमा गणतन्त्र स्थापना गर्ने नेता माओ त्से तुङ, आर्थिक विकासको नेतृत्व गर्ने देङ स्याओ पिङपछि वर्तमान राष्ट्रपति सीलाई तेस्रो युगको नेताको उपाधि दिइँदैछ । चीनको संविधानमा नै सीलाई ‘मेन्टर’ को उपाधि दिएर देङकै तहमा राख्ने सम्भावना देखिएको छ ।

सीपीसीको महाधिवेशनले पार्टीको पोलिटब्यूरो र स्थायी समितिमा नेताहरूको चयन गर्नेछ । चीनमा मात्र नभई सीपीसीको १९ औं महाधिवेशनलाई विश्वभरबाट नियालिएको छ । आखिर चीनले तय गर्ने नीतिले विश्व राजनीति र अर्थतन्त्रमा प्रभाव पार्नेछ ।

सीले आक्रामक विदेशनीति, बाह्य देशमा लगानी तथा स्वदेशी उत्पादनलाई स्वदेशमै खपतको मात्रा वृद्धिजस्ता कुरामा जोड दिने अपेक्षा छ । चिनियाँ जनमुक्ति सेनाका सर्वोच्च कमान्डर समेत रहेका सीले सेनाको स्तरवृद्धिमा समेत ध्यान केन्द्रित गरेका छन् ।

राष्ट्रपति सीको नेतृत्व परीक्षण

चीनमा माओ र देङपछिको नेताको रूपमा चर्चा कमाउँदै गरेका सीले अपनाउने नीतिलाई चीनले मात्र होइन, बाह्य जगतले पनि निकै चासोका साथ हेरेको छ । कम्युनिस्ट पार्टीको सम्मेलनमा राष्ट्रपति सीले भ्रष्टाचारका विरुद्ध अझ कडा कदम चाल्ने संकेत गरेका छन् ।

‘हामी भ्रष्टाचारका विषयमा शून्य सहनशीलतामा काम गर्नेछौं, यो हाम्रो देशको लागि ठूलो चुनौती हो भनेर सबैले बुझ्नु जरूरी छ,’ उनले सम्वोधनका क्रममा भने ।

‘बाघदेखि झिंगासम्म’ लाई नछाड्ने भन्ने सीले लिएको भ्रष्टाचारविरुद्धको नीतिको चीनमा प्रशंसा भइरहेको छ । उनले घूस लिने मात्र होइन, घूस दिने मानिसलाई पनि कडाभन्दा कडा कारबाही गरिने बताउँदै आएका छन् । हजारौ भ्रष्ट अधिकारीलाई सी नेतृत्वमा आएपछि कारबाही भएको छ ।


नेपालमा के प्रभाव पार्छ ?

विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले लिने नीतिका कारण सीमा जोडिएको नेपालमा प्रभाव पर्ने जानकारहरू बताउँछन् ।

चीनसँग सीमा जोडिएका कारण उसले लिने नीतिको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने र चीनको समृद्धिको लाभ लिनसके नेपालले आर्थिक विकासमा फड्को मार्न सक्ने जानकारहरू बताउँछन् ।

चीनका लागि पूर्व नेपाली राजदूत कार्की



चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले लिने नीतिले नेपाललाई स्वाभाविक प्रभाव पार्ने बताउँछन् । ‘नेपालले प्रतिबद्धता जनाइसकेको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) कार्यान्वयन जस्ता कुराले नेपालजस्तो विकासशील देशलाई प्रभाव पार्छ,’ राजदूत कार्कीले लोकान्तरसँग भने, ‘चीनबाट नेपालले लिने फाइदा भनेको आर्थिक विकास र समृद्धि नै हो ।’

पूर्वराजदूत कार्की नेपालले चीनबाट राजनीतिक प्रणाली, नेतृत्व र संस्कार सिक्नुपर्ने बताउँछन् । ‘चीन यत्तिकै दोस्रो आर्थिक शक्ति भएको होइन, पाँच वर्षमा ६ करोड ५० लाख नागरिकलाई गरीबीबाट मुक्त ग–यो,’ कार्की भन्छन्, ‘सन् २०३५ भित्र आधुनिक समाजवादी राष्ट्र र सन् २०४९ भित्र महान् आधुनिक समाजवादी देश बनाउने उनीहरूको लक्ष्य निर्धारित समयभन्दा पहिल्यै पूरा हुने संकेत छ ।’

नेपाल कुन प्राथमिकतामा ?

सन् २०१२ मा नेतृत्वमा आएयता चिनियाँ राष्ट्रपति सीले २८ मुलुकको औपचारिक भ्रमण गरे भने ५६ देशमा टेके । तर सिमाना जोडिएको नेपाल भ्रमण गर्ने उनको साइत जुरेन । यसबीचमा नेपालबाट चीनमा उच्चस्तरीय भ्रमण भएपनि चीनबाट उच्चस्तरको भ्रमण भएको छैन ।

तत्कालीन चिनियाँ प्रधानमन्त्री वान जिआबाओले सन् २०१२ को जनवरीमा नेपालमा पाँच घन्टाको ट्रान्जिट भ्रमण गरेका थिए । केही महिनाअघि मात्र चिनियाँ उपप्रधामन्त्रीले नेपालको भ्रमण गरे ।

तर गतवर्षको असोजमा नेपालमा हुने भनिएको चिनियाँ राष्ट्रपति सीको भ्रमण स्थगित भयो । भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाने क्रममा सी नेपाल आउने तयारी थियो । तर नेपालमा अचानक सरकार परिवर्तन भएपछि सीको भ्रमण हुन सकेन ।

‘सी नेपालमा आउने तयारी भएपछि नेपालमा अचानक सरकार परिवर्तन भयो । राजनीतिक अस्थिरताका कारण नेपालसँग भएका सम्झौताहरू कार्यान्वयन नहुने देखिएपछि सीले विना एजेन्डा भ्रमण हुने कुरा भएन,’ पूर्वराजदूत कार्की भन्छन्, ‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित हुनु नेपालका लागि दुर्भाग्य नै हो ।’

नेपालमा राजनीतिक स्थिरता कायम भएमा आगामी कार्यकालमा सीले नेपाल भ्रमण गर्ने कार्की बताउँछन् । नेपालको राजनीतिक स्थिरता र समृद्धि चीनको चाहना भएपनि नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण चीनले चाहेर पनि नेपाललाई सहयोग गर्न नसकेको जानकारहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्