०८ असार २०८३, सोमबार
उपभोक्ता झुक्याउने मेसो

टेस्लाको लोगोसँग मिल्ने चाइनिज गाडी 'डीपल' : वास्तविक मूल्यभन्दा दोब्बर असुल्छन् विष्णु अग्रवाल

जेठ २३, २०८१
काठमाडौं
टेस्लाको लोगोसँग मिल्ने चाइनिज गाडी 'डीपल' : वास्तविक मूल्यभन्दा दोब्बर असुल्छन् विष्णु अग्रवाल

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ ।

कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्री गर्ने गरेको खुलासा भएको हो ।

चांगानको इलेक्ट्रिक ब्रान्ड डीपलले उत्पादन गरेको विद्युतीय कार ‘डीपल-०७’ गत सालको चैत १८ गतेदेखि नेपालमा बिक्री शुरू गरिएको हो । यसको लोगो टेस्लाको लोगोसँग हुबहु मिल्छ ।

नेपालका लागि टेस्लाको आधिकारिक बिक्रेता आरित इन्टरनेसनलले आफ्नो लोगो चोरिएको विषयलाई लिएर कानूनी कारबाहीमा जाने तयारीसमेत गरेको छ ।

'टेस्लाको जस्तै लोगो राखिएकोबारे हामी कानूनी कारबाहीमा जाने तयारी गरिरहेका छौं,' आरित इन्टरनेसनलका एक कर्मचारीले भने ।

मूल्यमा दोब्बरसम्म लूट

यसअघि लोकान्तरले यामाहा बाइकमा अग्रवालले मच्चाएको लूटबारे समाचार प्रकाशित गरेको थियो । त्यही शैलीमा डीपल गाडीमा पनि अग्रवालले ३० लाखसम्म मुनाफा लिएका छन् ।

कारन्यूज चाइना(carnewschina.com)का अनुसार विद्युतीय सेग्मेन्टतर्फ डीपल एस ७ को मूल्य २६ हजार ४ सय डलरदेखि २८ हजार २ सय डलरसम्म पर्छ ।

null

जबकि डीपल एस ०७ को नेपाली बजार मूल्य ७१ लाख ९९ हजार राखिएको छ । कार निर्माता देश चीनमा यसको मूल्य जम्मा २६ हजार ४ सय डलर अर्थात आजको सटही दरमा ३५ लाख, २३ हजार मात्र पर्छ ।

चीनमा जनवरी १, २०२४ देखि डिसेम्बर ३१, २०२५ सम्म किनिएका विद्युतीय सवारीमा कर लाग्दैन ।

नेपालमा भने अहिले ५० देखि १०० किलोवाटसम्मको विद्युतीय सवारीलाई १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क लाग्ने गर्छ ।

३५ लाख २३ हजारमा पाइने गाडीमा १५ प्रतिशत भन्सार जोड्दा ४० लाख ५२ हजार हुन्छ । त्यसमा थप १० प्रतिशत अन्तःशुल्क जोड्दा उक्त गाडीको मूल्य जम्मा ४४ लाख ५७ हजार हुन आउँछ ।

के भन्छ कानून ?

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार सरकारले आफैं मूल्य निर्धारण गरेको बाहेक सरकारले अनुमति दिएको वस्तुको व्यापारमा २० प्रतिशतभन्दा बढी मूल्य लिन पाइन्न ।

तर, अग्रवालले वास्तविक मूल्यमा करिब ३० लाख जोडेर नेपाली उपभोक्तालाई ठगिरहेका छन् ।

ऐनको दफा ३ मा भनिएको छ, 'दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्नेछ ।'

null

ऐनमा जरिवाना र सजायको प्रबन्ध गरिएको भएपनि अग्रवाल भने शक्तिको आडमा जोगिँदै आएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकतम २० प्रतिशत मात्र नाफा राख्न पाइने बताए ।

उनले भने, 'कुनै-कुनै सामानमा त शतप्रतिशत पनि मुनाफा लिएको पाइएको छ । हामीले उपभोक्ताको ढाड सेक्ने काम नगर्नुस् भन्दा उनीहरूले नाफा नै खान नदिने भए व्यापार किन गर्न दिएको त भन्दै उल्टै प्रतिप्रश्न गर्छन् । हामीले निरन्तर उपभोक्ताको पक्षमा आवाज उठाएका छौं, यसमा सरकार पनि जिम्मेवार हुनुपर्‍यो ।'

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले सरकारले तोकेको भन्सार दरअनुसार नै सामान आयात हुनुपर्ने र नभएमा कारबाही गरिने बताए ।

उत्पादकसँगको मिलेमतोमा फ्याक्ट्री मूल्य नै तलमाथि गरेर देखाइयो भने के हुन्छ भन्ने प्रश्नमा उनले यस्तो हुने गरेको आफूले सुनेको तर नेपालको कानूनले विदेशमा उत्पादन हुने सामानको फ्याक्ट्री मूल्य निर्धारण गर्न नसक्ने बताए ।

'कहिलेकाहीँ वास्तविक मूल्यभन्दा कम वा बढी कायम गरेर भन्सारमा थोरै पैसा तिर्ने खेल हुन सक्छ र भएको पनि छ,' उनले भने, 'यसमा कतिपय अवस्थामा हामीले विभिन्न स्रोतबाट सामानको वास्तविक मूल्य पत्ता लगाएर कारबाहीसमेत गरेका छौं । तर डीपल ब्रान्डबारे उजुरी परेको छैन ।'

ठगीको साम्राज्य

अग्रवालको स्वामित्वमा रहेको एमएडब्ल्यू कम्पनीले डीपल ब्रान्डसँगै निर्माणमा प्रयोग हुने हेभी सामग्री जेसीबी, फोटोन, स्कोडा र जीप गाडी, एचपी नामको इन्जिन आयल, यामाहा, चेक गणतन्त्रमा उत्पादन हुने एलईटी जहाजसमेतको आधिकारिक बिक्रेताको लाइसेन्स लिएको छ ।

यसअघि मोरङ अटो वर्क्स नामको उनको कम्पनीले २ करोड ७० लाख भन्दा बढी नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगेको खुलेको थियो । टेस्लाको लोगो चोरिएको र उपभोक्ता ठगिएकोबारे प्रश्न गर्न खोज्दा एमएडब्ल्यू ग्रुपका अध्यक्ष अग्रवालसँग सम्पर्क हुन सकेन ।

तर, ग्रुपकै उच्च तहका अर्का एक कर्मचारीले आफूहरूले अप्राकृतिक नाफा नखाएको दाबी गरे । उनले भने, 'हामीले देशको कानून तोडेका छैनौं । कानूनले दिएकै नाफा राखेका हौं ।'

salt training

कमेन्ट गर्नुहोस्