
यसपटकको राष्ट्रिय कार रेस प्रतियोगिता नेशनल अटोक्रोस च्याम्पियनसिपको उपाधि आशिष भारतीले जितका छन् ।
नेपाल मोटर स्पोर्टस् एण्ड रोड सेफ्टी फेडेरेसनद्वारा चन्द्रागिरिस्थित मदन भण्डारी स्पोर्टस् कम्प्लेक्समा आज आयोजित प्रतियोगितामा विप्लप श्रेष्ठ दोस्रो भए । प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई भियतनाममा केही समयपछि हुने अन्तर्राष्ट्रिय मोटर रेस प्रतियोगितामा सहभागी गराइने जानकारी आयोजकहरूले दिएका छन् । प्रतियोगितामा तीनजना महिलासहित २७ जना सहभागी थिए ।
प्रतियोगिताकै नोभिस श्रेणीतर्फको रेसमा लाक्पा सोनाम शेर्पाले प्रथम स्थान हासिल गरे भने राजकुमार कार्की दोस्रो भए । प्रतियोगिताअन्तर्गत ललितपुर चन्द्रागिरि सम्पदा मोटर र्यालीमा भने विप्लप श्रेष्ठ र राजन गिरीको जोडी प्रथम, प्रवेश पौडेल र प्रज्ज्वल पौडेलको जोडी दोस्रो र आशिष भारती र गौरवराज मानन्धरको जोडी तेस्रो भएको थियो । उक्त प्रतियोगितामा ललितपुर, काठमाडौँ र कीर्तिपुरका विभिन्न सम्पदा घुम्दै चन्द्रागिरि पुग्नुपर्ने थियो । यसमा प्रत्येक कारमा चालक र नेभिगेटर गरी दुई व्यक्ति सहभागी हुने गर्छन् ।
विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दैै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत खेलमात्र नभई कार रेसजस्तो पर्यटन प्रवर्द्धन गर्ने साहसिक खेलमा समेत नगरपालिकाले ध्यान दिन थालेको र आगामी दिनमा यस्ता प्रतियोगिता गर्न नगरपालिकाको तर्फबाट सहयोग रहने बताए ।