
कोपा अमेरिका फूटबल प्रतियोगिताको तयारीमा रहेको ब्राजिलले मेक्सिकोमाथि संघर्षपूर्ण जीत निकालेको छ ।
१७ वर्षे किशोर खेलाडी इन्ड्रिकले खेलको अन्तिम समयमा गोल गर्दै ब्राजिललाई कठिन जीत दिलाएका हुन् ।
आइतवार अमेरिकाको टेक्सासमा भएको खेलमा ब्राजिलले खेलको पाँचौ मिनेटमा नै गोल गरेर अग्रता लिएको थियो । आन्द्रेस पेरेइताले गोल गरेका हुन् ।
ग्राबियल मर्टिनेलीले ५४ औँ मिनेटमा अग्रता दोब्बर बनाए । यसपछि ब्राजिलले यो अग्रता जोगाउन सकेन । ७३ औँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोको आशा जीवितै राखे । गुइलेर्मो मार्टिनेजले अतिरक्त समयको दोस्रो मिनेटमा गोल गर्दै सनसनीपूर्ण बराबरीमा ल्याए । तर बराबरी ४ मिनेट मात्र टिक्न सक्यो । खेल सकिनैलाग्दा इन्ड्रिकले गोल गरेर ब्राजिलको जीत सुनिश्चित गरे ।
कोपा अमेरिकामा ब्राजिल कोलम्बिया, पाराग्वे र कोस्टारिका रहेको समूह ‘डी’मा छ ।
यता समूह ‘बी’मा रहेको मेक्सिकोले कोपा अमेरिकामा इक्वेडर, भेनेजुएला र जमैकाको सामना गर्नेछ ।
प्रतियोगिता आगामी जुन २० देखि अमेरिकामा शुरू हुँदैछ ।