२३ असार २०८३, मंगलबार

राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशककै प्रमाणपत्र नक्कली, अख्तियारद्वारा मुद्दा दायर

जेठ २७, २०८१
काठमाडौं
राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशककै प्रमाणपत्र नक्कली, अख्तियारद्वारा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।

उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।

उनले मगध विश्वविद्यालय, बोधगया, भारतबाट बीए उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिएका प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​

आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्