१८ असार २०८३, बिहीबार

स्क्वायर सहकारीको ७ करोड रकम हिनामिना, अध्यक्षसहित ३ जना पक्राउ

जेठ २७, २०८१
काठमाडौं
स्क्वायर सहकारीको ७ करोड रकम हिनामिना, अध्यक्षसहित ३ जना पक्राउ

स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सात करोड ४० लाख ८७ हजार आठ सय ६० रुपैयाँ ५९ पैसा हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२३ मखनमा सञ्चालित सहकारीका सञ्चालकहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनि प्रलोभन देखाएर निक्षपकर्ताको रकम हिनामिना गरेको आरोप छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा सहकारीका अध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सञ्चालक समिति सदस्य धर्मरत्न पाछें छन् ।

उनीहरूले सहकारी मुद्दती निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिलाएर बचतकर्तालाई रकम जम्मा गर्न लगाएका थिए ।​

बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवा, ब्याज रकम पटकपटक फिर्ता गर्न ताकेता गर्दा पनि नदिएपछि पीडितहरू सीआईबी पुगेका थिए ।​

सीआईबीका अनुसार काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र सहकारी विभागको पत्रको आधारमा सहकारीको अध्यक्षसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो ।​​

उनीहरूविरुद्ध सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्