
भर्चुअल मुद्रा ‘हाइपर फन्ड’ मा लगानी गरे २० गुणासम्म फाइदा हुने प्रलोभनमा परी काठमाडौँ बस्दै आएकी इलामकी ६४ वर्षीय कमला न्यौपाने (नाम परिवर्तन) ले २९ लाख ३८ हजार रुपियाँ गुमाइन् । सामान्य मोबाइलसमेत चलाउन नजान्ने न्यौपानेले सो रकम छिमेकीमार्फत ‘हाइपर फन्ड’ मा लगानी गरेकी थिन् ।
सन् २०२१ मा वैदेशिक रोजगारीका क्रममा इजरायल पुगेकी दोलखा जिरीकी नुर्वु शेर्पा (नाम परिवर्तन) का दम्पतीले सम्पूर्ण कमाइ एक करोड ३६ लाख २४ हजार ‘हाइपर फन्डमा गुमाए। यही कारण परिवारमा बेमेल बढ्ने डरले शेर्पा आफ्नो पीडा खुलेर भन्नसमेत सक्दिनन् ।
यी यस्तो ठगीका केही प्रतिनिधि घटना मात्र हुन् । नेटवर्किङ शैलीमा ‘हाइपर फन्ड’ भनिने भर्चुअल लगानी प्लेटफर्मबाट रातारात कमाउने प्रलोभनमा परी स्वदेश तथा विदेशमा बस्ने सयौँ नेपाली ठगिएको पाइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका आफन्त र चिनजान व्यक्तिलाई विदेशमै बसेर ठगी गर्ने गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान अघि बढाएको छ । गोरखापत्रमा खबर छ ।