१८ असार २०८३, बिहीबार

मानव अधिकारसम्बन्धी कानून निर्माणमा आयोगले सरोकारवालासँग लियो सुझाव

जेठ २८, २०८१
काठमाडौं
मानव अधिकारसम्बन्धी कानून निर्माणमा आयोगले सरोकारवालासँग लियो सुझाव

राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयकउपर सरोकार भएकाहरूबीच सोमबार सुझाव संकलन गरिएको छ । आयोगको केन्द्रीय कार्यालयले स्थलगत रूपमै सुझाव संकलन गरेको हो ।

आयोगका कामलाई थप प्रभावकारी बनाउन कानून संशोधन गर्न लागिएको हो । आयोगलाई सुझाव दिँदै लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले सत्यको अधिकार, पीडितको परिपूरण र र मानव अधिकार रक्षाका लागि आयोगलाई स्वतन्त्र रूपमा अगाडि बढाउनुपर्ने बताइन् ।

“आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिन हामीले आजैबाट संकल्प गर्न जरुरी छ”, उनले भनिन्, “आयोगलाई कमजोर बनाइयो भने पीडितलाई न्याय दिन सकिँदैन ।”  

आयोगका सदस्य मनोज दुवाडीले आयोगको काम अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्न कानून संशोधन आवश्यक परेको बताए । त्यसका लागि नेपालगञ्जबाट पहिलोपटक सुझाव संकलन गरिएको उनको भनाइ छ ।

आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदाको विधेयकलाई सुझावपछि संसदमा पेस गरिने सदस्य दुवाडीले बताए । “विधेयक प्रस्तुत भइसकेपछि आयोगलाई सबै राजनीतिक दलबाट सहयोग प्राप्त हुने विश्वास लिएका छौं”, उनले भने ।

आयोगका सचिव मुरारी खरेलले नयाँ मस्यौदा प्रस्तुत गरिसकेको जानकारी दिए ।

आयोगको सिफारिसलाई अझ कार्यान्वयन गर्न र जवाफदेही बनाउन थप विषय समावेश गरिने  उनले स्पष्ट पारे ।

सुझाव संकलन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नेपाल नेत्रहीन सङ्घ बाँकेका अध्यक्ष भावुकजंग थापा, एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश प्रमुख बसन्त गौतम, फातिमा फाउन्डेसन नेपालका अध्यक्ष मैमुना सिद्धिकीलगायतले सुझाव दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्