
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरूले सोच्नुपर्ने बेला आएको बताएका छन् ।
नेपाली कांग्रेसका पूर्वउपसभापति, पूर्वउपप्रधानमन्त्री, प्रजातान्त्रिक योद्धा शैलजा आचार्यको १५औं स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पटक-पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको निरन्तर विकासमा समस्या भएको उनको भनाइ थियो ।
'जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ विकास पनि हुन सक्दैन, राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको छ, अहिले राजनीतिक स्थायित्व छैन, आर्थिक विकास हुन सक्ने अवस्थामा छैन, सुशासन दिने अवस्था छैन,' उनले भने ।
नेता डा. कोइरालाले वीपी कोइराला र शैलजा आचार्यलाई सम्झेर काम गरेर अगाडि बढेमात्र कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सकिने बताए ।
उनले आचार्य साहसिक व्यक्तित्वको धनी भएको उल्लेख गरे ।
त्यस अवसरमा कांग्रेस नेता डा. शशाङ्क कोइरालाले पार्टीभित्र हिम्मत र साहसी महिला नेतृ शैलजा आचार्य भएको बताए।
उनले देश विकासका लागि स्व. आचार्यको योगदान महत्त्वपूर्ण भएको उल्लेख गरे ।
पार्टीभित्र शैलजा आचार्यको योगदानलाई जुन तरिकाले सम्बोधन गर्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ थियो ।