
सत्ता समीकरण परिवर्तनसँगै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकीमा कांग्रेस नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता गरेपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्दराज पाण्डेको नजर प्रदेशसभा सदस्य फणीन्द्र देवकोटातर्फ थियो ।
माओवादी केन्द्रको चुनाव चिन्हबाट गण्डकी प्रदेश सभा सांसद बनेका देवकोटाले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छन् भन्ने सुरुदेखि नै आङ्कलन गरिएको थियो । सोमबार सदनमा उनले गरेको फ्लोर क्रसकै कारण गण्डकी सरकार जोगियो भने एमाले–माओवादी केन्द्र सम्मिलित गठबन्धन तरङ्गित बनेको छ ।
यसअघि नै अविश्वासमा परेपछि मुख्यमन्त्री पाण्डेले सरकार जोगाउन प्रयास गरेका थिए । तर, त्यति बेला विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीले राजीनामा बुझाए । सदनमा बहुमत पुर्याउन दुबैलाई सकस हुँदा ठुलो दलको नेताका रूपमा आफू नै मुख्यमन्त्री नियुक्त हुने पाण्डेको अड्कल थियो । तर, उनले सोचे विपरीत खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त भए । सर्वोच्चले अधिकारीले लिएको विश्वासको मत उल्ट्याएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेले सोमबार सदनबाट ३१ सांसदको समर्थन सहित विश्वासको मत प्राप्त गरे ।
सम्भवतः सोमबारको दृश्यबारे विपक्षी दल जानकार थिए । सदनको कुर्सीमा बस्नुअघि एमाले संसदीय दलका नेता खगराज अधिकारीले देवकोटा बसेको कुर्सी छेउ आएर कुरा गरी गए । विश्वासको मत विषयमा छलफल हुँदा घुमाइरो पारामा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाल समाजवादी पार्टीको गण्डकी सदनमा अस्तित्व नरहेको बताए । उनले अप्रत्यक्षरुपमा देवकोटालाई लक्षित गर्दै सदनमा बोले ।
विश्वासको मत दिने बेला विपक्षी टेबलमा सँगै बसेका देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) समर्थनतर्फको लबीमा सोझिए । यो देख्नसाथ प्रतिपक्ष दलका संसदीय नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारी आफै नाराबाजीमा उत्रिए ।
पार्टीको ह्विप र कारबाहीको विषयमा कुरा भइरहँदा यता देवकोटा केन्द्रको निर्णय अनुसार मत दिएको बताउँछन् ।
‘मैले र मेरो पार्टीले मतदान गर्दा गण्डकीको स्थायित्व बचाउन सकिन्छ । मध्यावधिबाट रोक्न सकिन्छ भनेर मत दिएको हो । केन्द्र र प्रदेश पार्टी अनुसार माओवादी केन्द्रले ह्विप जारी गरे पनि मेरो पार्टी नेपाल समाजवादी भएका कारणले केन्द्रको निर्देशनअनुसार मत दिएको हो’, उनले भने ।
निर्वाचन आयोगमा र नेपाल समाजवादी पार्टीमा आफ्नो परिचय रहेको तर्क दिँदै उनले पार्टीको ह्विप नलाग्ने जिकिर गरे । आफूले माओवादी केन्द्र नभई समाजवादीको नाताले विश्वासको मत दिएको उनले भनाइ राखे ।
तर माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान भने उनलाई पार्टीले कारबाही गर्ने बताए । पार्टीले अविश्वासको पक्षमा मत दिनका लागि आइतबार १ बजे संसदीय दलको बैठक राखेको थियो । सो बैठकमा देवकोटा उपस्थित भए पनि हस्ताक्षर गरेनन् । यसअघि पनि दलको तीन चार वटा बैठकमा अनुपस्थित रहेका उनलाई कारबाही प्रक्रिया अघि नबढाएको चुमानले बताए ।
दलको बैठकमा अनुपस्थित रहे पनि देवकोटाले अघिल्लो पटकमा पार्टीको ह्विप उल्लङ्घन गरेका थिएनन् । यस पटक भने उनले फ्लोर क्रस गरेर गण्डकीमा कांग्रेसको सरकार जोगाइदिएका छन् ।
देवकोटालाई कारबाही प्रक्रिया अगाडि बढाउन लागिसकेको दलका नेता चुमानले जानकारी दिए । ‘उहाँले ह्विपको उल्लङ्घन गर्नुभयो । सम्बन्धित दलले कारबाहीको प्रक्रिया अघि बढाउँछ आजै हामीले कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ । कानुनी प्रक्रिया छ स्पष्टीकरणको प्रक्रिया छ । हाम्रो पार्टीले स्पष्टीकरण लिने उनले दिने स्पष्टीकरण चित्त नबुझ्दो नभएमा कारबाहीको प्रक्रिया अघि बढ्छ,’ चुमानले भने । यस्तै प्रधानमन्त्री प्रचण्डले पनि सोमबार साँझ भारतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देवकोटामाथि कारबाही हुने बताएका थिए ।
तर, कारबाही भएमा सांसद पद नै धरापमा पर्ने निश्चित रहेका देवकोटा भने मङ्गलवार गण्डकीको मन्त्री नियुक्त हुँदै छन् । यस्तै, दीपक मनाङेले पनि मङ्गलवार मन्त्री पदमा शपथ लिँदै छन् ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ को उपदफा ३ मा ह्विप उल्लङ्घन भएमा कारबाहीका लागि प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको छ । चुनाव चिन्ह माओवादी भए पनि उनको पार्टीको परिचय भने नेपाल समाजवादी नै हो । यस्तै प्रदेश सभा सचिवालयले पनि उनलाई समाजवादी पार्टीबाट निर्वाचित सांसद भनेर रेकर्डमा राखेको छ । अब यो विषयमा झमेला हुने निश्चित रहेकाले विवाद अदालतसम्म पुग्ने निश्चित छ ।