
नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ ।
पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए ।
समस्या पहिचान गर्ने क्रम गएको बर्ष २०८० असोज महिनाबाट सुरु भएको हो । पानीको निकास सम्बन्धी समस्या पत्ता लागेपछि महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अवस्था हेर्न गएका थिए ।
उनको अवलोकनपछि कामले तीब्रता पायो । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको काम चानचुने होइन । यसबाट ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेछ ।
हिति पुनरुत्थान भनेर संरचना बनाएर मात्र हुने थिएन । यसका समस्या पत्ता लगाउनु थियो । हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ठाउँमा ३ वटा घरले निकास थुनेको पत्ता लाग्यो ।
स्थानीयले दिएको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ ।
प्रमुखका सचिवालय सदस्य विनय शाक्यले पानीको निकास सम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिए ।
अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने भएको शाक्यले बताए ।