
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
३१ सांसदको समर्थन लिँदै उनले सोमबार सदनबाट विश्वास पाएका हुन् । मुख्यमन्त्रीको विपक्षमा २८ मत परेको छ ।
मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रबाट चुनाव जितेका डा बाबुराम भट्टराई पक्ष गण्डकीका सांसद फणीन्द्र देवकोटा, राप्रपाका २ र दीपक मनाङेले विश्वासको मत दिएका हुन् । देवकोटाकै फ्लोर क्रसका कारण मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन् ।
००००
नेपाल समाजवादी पार्टी (नेसपा)ले गण्डकी प्रदेश सरकारलाई कानून बमोजिम नै विश्वासको मत दिएको दाबी गरेको छ।
नेसपा केन्द्रीय प्रवक्ता कृष्ण शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेसपा गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको मत संविधानसम्मत भएको जनाए।
‘गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको अवस्था हो । नेपाल समाजवादी पार्टीले संविधानको मर्म, भावना र मौजूदा कानूनी व्यवस्था बमोजिम गरेको निर्णयलाई फ्लोर क्रस भनी गरिएको प्रचारबाजीबाट भ्रमित नहुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन भारतको नयाँ दिल्ली गएका उनी सोमबार साँझ स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले गण्डकी प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई कारबाही हुने बताएका छन् ।
‘पार्टीको ह्विपविरुद्ध मतदान गर्नेलाई कारबाही हुन्छ । निलम्बन हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
भारतमा रहँदा प्रधानमन्त्रीले भारतीय समकक्षी, राष्ट्रपति, मन्त्री एस जयशंकरसहित त्यहाँ रहेका व्यवसायीसँग समेत भेटवार्ता र छलफल गरेका थिए ।
००००
प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशभरका सङ्घीय अस्पतालमा रहेका सघन कक्ष र अति सघन कक्षको अवस्थाबारे अध्ययन गरी आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।
।
समितिको सोमबारको बैठकले वीर अस्पतालमा रहेका आइसियु, सिसियु बेड, भेन्टिलेटर, कार्डियाक युनिट, जेरियाट्रिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सञ्चालनको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
००००
कोशी प्रदेश योजना आयोगमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका–९ का डा सीताराम बस्नेत, सोलुखुम्बुको मुक्ली गाउँपालिका–६ का किशोरकुमार राई, सुनसरीको धरान उपमहानगरपालिका– १२ का भवानीप्रसाद बराल र मोरङ केराबारी गाउँपालिका–२ की नमिता न्यौपानेलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लीलाबल्लभ अधिकारीले जानकारी दिए ।
००००
पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित सुझाव समितिले प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई संघ सरकारको प्रतिनिधिको भूमिकामा राख्ने गरी ऐन ल्याउन सिफारिस गरेको छ ।
गृह मन्त्रालयअन्तर्गत निकायका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समितिले सीडीओलाई जिल्लामा संघ सरकारको प्रतिनिधिको भूमिकामा राख्न सुझाव दिएको गृहमन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।
००००
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए ।
उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताए ।
००००
कमसल धितो राखेर करोडौं ऋण प्रवाह गरेको आरोपमा प्रहरीले सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष र सञ्चालक समितिका सदस्यसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
बैंकले विभिन्न कम्पनीलाई दिएको ऋण मध्ये ९७ करोड रुपैयाँको ‘ओभर भ्यालुएसन’ गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा बैंकका तत्कालीन अध्यक्ष ललितपुर झम्सिखेल बस्ने राजेश कुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्यहरू क्रमशः कपन बस्ने सुनिल कुमार न्यौपाने, झम्सिखेल बस्ने प्राध्यापक डाक्टर गीता प्रधान, बत्तीसपुतली बस्ने रमेश कुमार निरौला, भोजपुर दलगाउँका राजेश कुमार दली, टोखा पासिकोट बस्ने उमाकुमारी श्रेष्ठ र ललितपुर टिकाथली बस्ने शिव गोपाल रिसाल छन् ।
००००
चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा सरकारको ढुकुटी सवा २ खर्बले ऋणात्मक रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिति सरकारले १० खर्ब, ५६ अर्ब, ८९ करोड खर्च गर्दा आम्दानी भने जम्मा ८ खर्ब, ३१ अर्ब, ९३ करोड रहेको उल्लेख छ ।
००००
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेका उजुरीसहितका सक्कल मिसिल झिकाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार उक्त आदेश गरेको हो ।
लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितका माग राखेर सर्वोच्चमा परेको रिटलाई अग्राधिकार दिँदै आगामी असार ४ गते पेशी तोकिएको छ । अदालतले थप प्रमाण मागेसँगै उनीविरुद्धको मुद्दा लम्बिएको छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन् ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
००००
यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भूभागमा सोमबारदेखि भित्रिएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको छ ।
सोमबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा आपतकालीन उद्धार अभ्यास गरिएको हो ।
००००
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार मन्त्रीमण्डल विस्तार गरेका छन् ।
सोडारीले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट ३–३ जना, एक जना एकीकृत समाजवादीका सांसदलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन् ।