३१ असार २०८३, बुधबार

सदस्यता विवाद नटुङ्गाई पत्रकार महासंघले जबरजस्ती गरे प्रेस  युनियन आन्दोलनमा जाने

जेठ ३१, २०८१
काठमाडौं
सदस्यता विवाद नटुङ्गाई पत्रकार महासंघले जबरजस्ती गरे प्रेस  युनियन आन्दोलनमा जाने

नेपाल पत्रकार महासंघको सदस्यता विवाद नसुल्झिएकोमा नेपाल प्रेस युनियनले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

 सदस्यताको विवाद समाधान नगरी सदस्यताको नामावली सार्वजनिक गरेर जबरजस्ती ढंगले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाए अस्वीकार गरेर आन्दोलनमा जाने प्रेस युनियनले घोषणा गरेको छ ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस युनियन अधिकतम लचिलो हुँदा पनि सम्बन्धित पक्ष जिम्मेवार नभएको जनाएका छन् । 

महासंघकै शाखा र प्रदेश समितिले पठाएको नामावलीलाई आधार मानेर छुटेका सक्रिय पत्रकारलाई महासंघको विधि र प्रक्रिया अनुसारसदस्यता टुङ्ग्याएर अन्तिम मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाउन अध्यक्ष लम्सालले आग्रह गरेका छन् ।

महासङ्घका शाखा र प्रदेशले पठाएका सदस्यको नाम केन्द्रीय नेतृत्वले हटाएर अमुक सङ्गठनमा आस्था राख्नेलाई सहयोग पुग्ने गरी विधि र प्रक्रिया विपरीत आफूखुसी केन्द्रबाट सदस्यको नाम थपेर गैरपत्रकारलाई सदस्यता दिई सूची तयार गरेका कारण यो अवस्था सिर्जना भएको युनियनले जनाएको छ ।

महासंघको विधान अनुसार सदस्यता विवाद सुल्झाएर थप गरिएको मितिमा निर्वाचन सुनिश्चित गर्ने वातावरण तयार गर्न नेपाल पत्रकार महासंघको नेतृत्व लगायत पत्रकार सम्बद्ध सबै  पेसागत संस्थाहरूलाई अध्यक्ष लम्सालले अपिल गरेका छन् ।

 पूर्व निर्धारित मितिमा निर्वाचन हुन नसकेकोमा युनियन दुःख व्यक्त गर्दै पछिल्लो पटक निर्धारण गरिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता युनियनले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्