३० असार २०८३, मंगलबार

राष्ट्रिय ललितकला प्रदर्शनी : ३० हजार बढीले गरे अवलोकन

जेठ ३२, २०८१
काठमाडौं
राष्ट्रिय ललितकला प्रदर्शनी : ३० हजार बढीले गरे अवलोकन

राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गतेदेखि शुरू गरेको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएको थियो । तर दर्शकको भीड बढ्न थालेपछि शुक्रबारसम्म विस्तार गरिएको प्रतिष्ठानले जनाएको छ ।

यस अवधिमा ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका प्रतिष्ठानका प्राज्ञ सदस्य एवं मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ वटा कलाकृति राखिएका छन् । 

‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’ भन्ने नाराका साथ भएको प्रदर्शनीमा सातवटै प्रदेशबाट छानिएका कलाकृति समावेश गरिएका छन् ।

गत फागुनदेखि सातै प्रदेशमा प्रदर्शनी गरिएको थियो । त्यसअघि सातवटै प्रदेशका कलाकृति छनोट गरिएको प्रतिष्ठानले जनाएको छ । 

प्रदर्शनीमा कार्टुन पनि राखिएको छ । देशको अवस्था झल्कने कलाकृतिको बाहुल्यता देख्न सकिन्छ ।

राहदानी बनाएर विदेश जान विमानस्थलमा लाम लाग्ने अवस्थालाई कलाकृतिका माध्यमबाट देखाइएको छ । नेपालको वर्तमान अवस्थालाई देखाइएका यस्ता कलाकृतिलाई दर्शकलाई आकर्षित गरेका हुन् ।

यस वर्षको प्रदर्शनीमा सुरेश लवट (तुलाधर)को २१ तारा शीर्षकको काठको मूर्ति पहिलो भएर सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गरेको छ ।

एक सय आठ सेन्टिमिटर उचाइको उक्त कलाकृतिले धेरै दर्शकलाई आकर्षित गरेको थियो ।

प्रदर्शनीमा आध्यात्मिक भाव झल्काउने कलाकृति पनि यथेष्ट मात्रामा राखिएका छन् ।

रसुवाका कलाकार सुवास आचार्यले सूर्य विष्फोट भएर ग्रह, तारा बनेको अवस्थालाई कलाका माध्यमबाट प्रस्तुत गरेका थिए ।

सृष्टिलाई देखाउने यस्ता कलाकृतिमा पनि अवलोकनकर्ता धेरै बेर घोत्लेर हेर्ने गरेका देखिन्छ ।​

प्रतिष्ठानले विसं २०६८ देखि नै गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनी अवलोकन गर्ने दर्शक प्रत्येक वर्ष बढ्न थालेका प्रतिष्ठानले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्