२५ जेठ २०८३, सोमबार
टी–२० क्रिकेट विश्वकप

बंगलादेशविरुद्ध नेपालले झिनो लक्ष्य पनि पछ्याउन सकेन, २१ रनले पराजित

असार ३, २०८१
काठमाडौं
बंगलादेशविरुद्ध नेपालले झिनो लक्ष्य पनि पछ्याउन सकेन, २१ रनले पराजित

टी–२० क्रिकेट विश्वकपमा १०७ रनको झिनो लक्ष्य पनि पछ्याउन नसकेपछि नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा सोमवार बिहान भएको खेलमा नेपालले पूरै ओभर खेल्न सकेन । १९.२ ओभरमा ८५ रन बनाएर अलआउट हुन पुग्यो । 

नेपालले शुरूदेखि नै लगातार विकेट गुमाएको थियो । पावर प्लेको छैटौँ ओभर नसकिँदै चौथो विकेट गुमाएको थियो ।

नेपालले ५.४ ओभरमा चार विकेट गुमाएको हो । यो बेला २४ रन बनाएको थियो । 

नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन जोडे । यस्तै दीपेन्द्रसिंह ऐरीले २५ रन बनाए । दुई ब्याटरले अर्धशतकीय साझदारी गरे पनि जीत दिलाउन सकेनन् ।

यसैगरी आरिफ शेखले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकको रनसमेत बनाउन सकेनन् । 

कप्तान रोहित पौडेल र सन्दीप जोराले १–१ जोडे । गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहराले खाता खोल्न सकेनन् । सन्दीप अविजित रहे ।

यसअघि पहिलो पारीमा बंगलादेशविरुद्ध नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । टेस्ट टोली बंगलादेश १०६ रनमै समेटिएको थियो । नेपाली बलरसामु बंगलादेशका ब्याटर निरीह बनेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरा ओभर पनि खेल्न सकेन । उ १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रनमा सीमित भएपछि नेपालले १०७ रनको झिनाे लक्ष्य पाएको थियो ।

सोमपाल कामीले नेपाललाई पहिलो बलमै सफलता दिलाएका थिए । त्यसपछि बंगलादेशले लगातार विकेट गुमायो ।

पछि सोमपालले अर्को विकेट पनि आफ्नो नाममा लेखाए । यस्तै दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले पनि २–२ विकेट लिए ।

यस खेलबाटै नेपालका बलर सन्दीप टी–२० क्रिकेटमा शतक विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । 

बंगलादेशविरुद्ध २ विकेट लिएपछि सन्दीपले सो सफलता हासिल गरेका हुन् ।

टी–२० मा सबैभन्दा छिटो विकेटको शतक बनाउने कीर्तिमान अफगानिस्तानमा राशिद खानको नाममा छ । उनले ५३ खेलमा १०० विकेट पूरा गरेका थिए ।

लेग स्पिनर सन्दीपले ५४ खेलमा विकेटको शतक पूरा गरेका हुन् । 

साेमवारकाे खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए ।

नेपालले बंगलादेशविरुद्ध विश्वकपको अन्तिम खेल खेलेको हो । यसअघि नेपाल नेदरल्यान्ड्स र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

श्रीलंकासँगको खेल भने वर्षाका कारण हुने सकेन दुवै टोलीले १–१ अंक बाँडेका थिए ।

  


 

salt training

कमेन्ट गर्नुहोस्