
नेपाली कांग्रेसले पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले आज विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
पेट्रोलियम पदार्थको अभावमा नागरिक आतङ्कित बन्ने वातावरण बनेकाले तत्काल आपूर्ति व्यवस्था सहज गराउनुपर्ने कांग्रेसको माग छ ।
विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न नेपाल सरकार, नेपाल आयल निगम, निगमको सञ्चालक समिति, निगम व्यवस्थापन र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसँग माग गरेका छन् ।
बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्तिको शृङ्खलासमेत बिग्रने हुँदा अत्यावश्यक वस्तुमा बन्द, हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध कानून बमोजिम कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ ।
विधिको शासन र कानूनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि कांग्रेसले सरोकार भएका सबैसँग अनुरोध गरेको छ ।