
विभिन्न ७ बुँदे माग राख्दै हडतालमा उत्रिएका नेपाल पेट्रोलियम ट्याङ्कर चालक र सरकारबीच सहमति भएको छ ।
सोमबार दिउँसो सिंहदरबारमा सरकारसँग भएको वार्ता सकारात्मक भएपछि चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका छन् ।
पेट्रोलियम ट्याङ्कर चालक संघ, नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिबीच सिंहदरबारमा भएको छलफलमा पेट्रोलियम पदार्थ ढुवानी गर्न संघ सहमत भएको हो ।
निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाबिना नै काम गर्न बाध्य रहेको र समस्या समाधानमा सुनुवाइ नभएको लगायत ७ बुँदे माग राखेर चालकहरू हड्तालमा उत्रिएका थिए ।
वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका माग सम्बोधन गर्न समिति गठन गर्नेलगायतका सहमति भएको छ ।
उक्त समितिले १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने छ ।
अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन छ ।