
सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक/सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो ।
सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको बैठकमा सङ्घीय संसद् सचिवालयका कर्मचारीले सेवा सुविधासम्बन्धी उठाएका आधारभूत मागलाई अर्थ मन्त्रालयसँगको परामर्शमा टुङ्ग्याउने सहमति भएको हो ।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्को कार्यप्रकृति फरक रहने हुँदा कर्मचारीले गरेको श्रम अनुरूपको सेवा सुविधा समयानुकूल परिमार्जन गरी उपलब्ध हुनुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको जानकारी दिए ।
'पन्ध्र वर्षअघि निर्धारण गरिएका कतिपय सेवा सुविधा परिमार्जन गरी उपलब्ध हुनुपर्छ भन्ने विषयमा सबै राजनीतिक दलबीच सहमति भएको छ,' उनले भने ।
संसद् सञ्चालन गर्न सरकारले आवश्यक अर्थको प्रबन्ध गर्नुपर्नेमा जोड दिँदै प्रमुख सचेतक लेखकले प्राप्त बजेटलाई संसद्ले पनि मितव्ययी ढङ्गले खर्च गर्न सुझाव दिए ।