
लमजुङका अधिकांश घरबासमा (होमस्टे) पर्यटक घट्न थालेसँगै यसको असर आम्दानीमा परेको छ । वर्षा लागेसँगै लमजुङमा सञ्चालित घलेगाउँ, भुजुङ, सिउरुङ, राइनासकोट, काउलेपानी, तुर्लुङकोट, भुस्मे तामाङ, नरुवाल मगरगाउँ, घेर्मुलगायतका घरबासमा पर्यटक आगमन सङ्ख्या घट्दा आम्दानी पनि घट्न थालेको हो ।
घरबाससम्म पुग्ने बाटो बिग्रिएको, दृश्यावलोकन स्पष्टता नहुने, यात्रा कठिन र जोखिमपूर्ण हुन थालेपछि पर्यटक आगमनमा कमी आएको हो । सञ्चालकहरु बर्खाको करिब तीन महिना घरबास पर्यटकविहीन जस्तै हुने बताए ।
दक्षिण एसियाकै नमुना ग्रामीण पर्यटकीय क्होंलासोथर गाउँपालिका–३ मा अवस्थित घलेगाउँ घरबास (होमस्टे) मा दैनिक तीन सयभन्दा बढी पर्यटक आउने गरे पनि बर्खा लाग्न थालेसँगै पर्यटक आगमन पातलो हुँदै गएको छ । घलेगाउँ घरबास व्यवस्थापक समितिका कार्यालय सचिव दीर्घ घलेले बर्खासँगै पर्यटक पातलिएको बताए ।
केही समय अघिसम्म सामान्यतयाः दैनिक एक सयभन्दा बढी तथा शुक्रबार र शनिबार बिदाामा दुई सय ५० जनासम्म पर्यटक आगमन भए पनि केही दिनयता दैनिक औसतमा पाँच÷सात जना मात्र पर्यटक आगमन भइरहेको उनको भनाइ छ ।