२५ जेठ २०८३, सोमबार
सरसर्ती २४ घण्टा

प्रचण्ड-‌ओलीको प्रस्तावमा सीके राउत अनिर्णित, बजेट वितरणमा चरम असमानता

असार ४, २०८१
काठमाडौं
प्रचण्ड-‌ओलीको प्रस्तावमा सीके राउत अनिर्णित, बजेट वितरणमा चरम असमानता

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

आर्थिक वर्ष २०८१/०८२ को अधिकांश बजेट प्रधानमन्त्री, मन्त्री र सत्ता साझेदार दलका शीर्ष नेताको गृहजिल्लामा केन्द्रित गरेको पाइएको छ ।

बढी बजेट खर्च गर्नेमध्ये भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी मन्त्रालयको वार्षिक विकास कार्यक्रम केलाउँदा बजेट वितरणमा चरम असमानता तथ्य भेटिएको हो ।

मुख्यगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को गृहजिल्ला (चितवन) तथा निर्वाचन क्षेत्र (गोरखा), सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला (झापा), अर्थमन्त्री वर्षमान पुनको गृहजिल्ला (रोल्पा) र तालुकवाला मन्त्रीको जिल्लामा बजेट खन्याएको देखिन्छ ।

आफ्नो गृहजिल्लामा बजेट खन्याउनेमा सबैभन्दा अगाडि उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ छन् ।

अर्थमन्त्री पुनको रोल्पाले पनि मनग्गे पैसा पाउँदा शहरी विकास मन्त्री धनबहादुर बुढाले गृहजिल्ला डोल्पासँगै झापा र रोल्पामा पनि बढी बजेट खन्याएका छन् ।

००००

नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

००००

पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको छ ।

विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको हो ।

००००

कोशी नाम खारेजी पुन: नामाङ्‍कन संयुक्त संघर्ष समितिले सरकारी वार्ता टोलीसँग वार्ता नगर्ने भएको छ । साथै समितिले मुख्यमन्त्रीसँग मात्रै वार्ता गर्ने निर्णय गरेको छ ।

ताप्लेजुङमा सोमबार बसेको पुनः नामाङ्‍कन संयुक्त संघर्ष समितिको बैठकले मुख्यमन्त्रीसहितको टोलीसँग मात्रै वार्ता गर्ने निर्णय गरेको हो ।

००००

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सत्ता गठबन्धनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

स्रोतका अनुसार उपप्रधानसहित कुनै मन्त्रालय लिएर सरकारमा सहभागी हुन राउतलाई प्रस्ताव गरिएको छ । जनमत पार्टीकी सांसद अनिता साहले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरिएको तर अहिलेसम्म पार्टीले कुनै निर्णय नगरेको लोकान्तरलाई जानकारी दिइन् ।

००००

हुन्डी र सुन तस्करी कारोबारमा जोडिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको पशुपति ट्रेड कन्सर्नका मालिक अरुणकुमार यादव छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यादवलाई बाराबाट नियन्त्रणमा लिएको हो ।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीका अनुसार यादवले विगत एक वर्षको अवधिमा पेवेलबाट एक अर्ब १७ करोड र सजिलो पेबाट तीन करोड ३८ लाख रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।

००००

सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक/सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो ।

००००

सरकारसँग ४ बुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ ।

आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चार बुँदे सहमति भएको छ । बजारमा आजैदेखि इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

००००

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट नबाहिरिने दाबी गरेका छन् ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा पत्र बोकेर हिँड्नु रास्वपाको पहिचान भएको बताएका हुन् ।

‘रवि लामिछानेजीले शुरूमा नै हामी त्यस्तै हौ भनेर भन्नुहुन्थ्यो । आफ्नो पहिचानको लागि पनि राजीनामा पत्र गोजीमा राखेर हिँडेका छौं भन्नुपर्ने उहाँहरूलाई आवश्यकता होला,’ रास्वपाका मन्त्रीले राजीनामा दिन लागेका हुन् भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘तर मैले बुझेको त्यस्तो केही पनि छैन ।’

००००

६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

आइतबार राति बौद्ध तीनचुलेबाट तिब्बतीयन मूलका चिनियाँ नागरिक सोनाम गुरुङ पक्राउ परेका हुन् ।

००००

टी–२० क्रिकेट विश्वकपमा १०७ रनको झिनो लक्ष्य पनि पछ्याउन नसकेपछि नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा सोमवार बिहान भएको खेलमा नेपालले पूरै ओभर खेल्न सकेन । १९.२ ओभरमा ८५ रन बनाएर अलआउट हुन पुग्यो ।

salt training

कमेन्ट गर्नुहोस्