
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले युवालाई विदेश पलायन गराउन र निराश बनाउने काम नेताहरूले गरेको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा बुधबार प्रतिनिधि सभाको बैठकमा भाग लिँदै केसीले युवा पलायनको जिम्मा नेताहरूले लिनुपर्ने बताएका हुन् ।
‘राजनीति, राष्ट्रियता र देशप्रति युवा कति निराश छन् । युवाले विदेशबाहेक अरु विकल्प नदेख्नुमा हामी जिम्मेवार छौं,’ केसीले भने, ‘हामी नेताले राजनीति नागरिकको गरेनौं । तर आफ्नो लागि गर्यौं । यसैले देश छोडेर विदेश जानेको लर्को लाग्यो ।’
यसैले जनताको उदासीमा सरकार, दल र सरोकारवालाहरूले गम्भीरता देखाउनुपर्ने उनको भनाइ छ ।
जसको हात उसैले मात्रै बजेट लाने प्रवृत्ति विडम्बना भएको उनले बताए ।
‘जसको हातमा बजेट हुन्छ उसले थुपार्ने हो भने यो भन्दा विडम्बना के हुन्छ ? बजेट नदिएका क्षेत्रमा जनतासँग सांसद के देखाउन जाने ?,’ उनले भने ।