
इलाम क्षेत्र नम्बर १ मा पुनः निर्वाचनको माग गर्दै झलनाथ खनालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले रिट खारेज गरिदिएको सर्वोच्चका सहप्रवक्ता गोविन्द अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी)बाट इलाम १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका खनाल नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित भएका थिए ।
यसपछि खनालले धाँधली भएको भनेर पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । खनालले २०७९ मङ्सिर २७ गते रिट दर्ता गराएका हुन् ।
उक्त रिटलाई लिएर शुरूमा २०७९ पुष ६ गते कारण देखाऊ आदेश जारी भएपनि त्यसपछि सुनुवाइ हुन सकिरहेको थिएन । सर्वोच्चमा रिट दर्ता भएको १८ महिनापछि बुधवार फैसला भएको हो ।
संवैधानिक इजलासको उक्त आदेशसँगै त्यहाँ निर्वाचित भएका बस्नेतले अब वैधानिकता पाएका छन् ।
अन्य ठाउँकाे निर्वाचनमा पनि धाँधली भएको भन्दै निर्वाचन आयोगविरुद्ध तीनवटा रिट परेका थिए ।
पूर्वप्रधानमन्त्री खनालसँगै सुरेन्द्रप्रसाद चौधरी र महेन्द्र यादवले पनि रिट दायर गरेका थिए । यी तीनैवटै रिट संवैधानिक इजलासले खारेज गरेको छ ।