२४ जेठ २०८३, आइतबार
सरकारी गाडीमा आगजनी

विद्यार्थी संगठनको आवरणमा अराजक गतिविधि, प्रहरी-प्रशासन रमिते !

असार ६, २०८१
विराटनगर
विद्यार्थी संगठनको आवरणमा अराजक गतिविधि, प्रहरी-प्रशासन रमिते !
विद्यार्थीले जलाएको गाडी ।

विराटनगरमा स्ववियु र संघ/संगठनकानाममा विद्यार्थी नेताहरूले अराजकता मच्चाइरहेका छन् । विभिन्न नाममा आन्दोलन गरिरहने उनीहरूको निशानामा सरकारी सम्पत्ति पर्ने गरेका छन् । सरकारी सम्पत्ति तोडफोड गर्नेदेखि गाडीमा आगजनी गर्नेलगायत अराजक गतिविधि उनीहरूले गरिरहेका छन् । 

गत जेठ २७ गते विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका थिए । आयोगका उपाध्यक्ष चढेको को १ झ ६४४ नम्बरको स्कारपियो गाडी क्याम्पसअगाडि नै जलाइएको थियो । पक्राउ परेका विद्यार्थी नेता रिहाइको माग गर्दै उनीहरूले सरकारी गाडी जलाएका हुन् । 

स्ववियुका पदाधिकारीसँगै नेपाल विद्यार्थी संघको समूहले सरकारी गाडीमा आगजनी गरेको स्थानीय बताउँछन् । त्यति मात्रै होइन विद्यार्थी नेताहरूले विद्युत प्राधिकरणको बा १ ञ १८८७, बा १ ख ८१८० र बा प्रदेश १ ००१ ञ २७०१ नम्बरको ३ वटा गाडीमा पनि तोडफोड गरेका थिए । 

उनीहरूले गाडीमा आगजनी गरिरहँदा नजिकै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा सहभागी भइरहेका थिए  । गृहमन्त्री सहभागी बैठक स्थलभन्दा ५० मिटर पर सरकारी गाडी जलाइएको थियो । कार्यक्रममा गृहमन्त्रीसहित गृहसचिव, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखसहित झापा, मोरङ, सुनसरीका सीडीओहरू सहभागी थिए । 

त्यसअघि केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य दीपक यादवलगायत ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई छुटाउन विद्यार्थी नेताहरूले गाडी जलाएका हुन् । 

विद्यार्थीले गाडी जलाएपछि त्यसअघि पक्राउ परेका रङ्गेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्रलाई प्रहरीले छाडिसकेको छ । 

विद्यार्थी नेताहरूले गाडी जलाएको यो पहिलोपटक भने होइन । ९ महिनाअगाडि पनि विद्यार्थीको समूहले सरकारी गाडी जलाएको थियो । 

गत असोज ३ गते महेन्द्र मोरङ पढ्ने विद्यार्थीले नै एउटा गाडीमा आगो लगाएका थिए । महेन्द्र मोरङ क्याम्पसमा एक प्राध्यापकले मानविकी संकायको स्नातक तहमा अध्ययनरत आफ्नी छोरीलाई पास गराउन उत्तर पुस्तिका नै साटफेर गरेको भन्दै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा नियन्त्रकको बा १७ च ८२३८ नम्बरको गाडीमा आगो लगाएका थिए । दुवै घट्नामा महेन्द्र मोरङ क्याम्पसका स्ववियुकै पदाधिकारी जोडिएको विद्यार्थी नेताहरू बताउँछन् । 

घटनामा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन् । अहिलेसम्म प्रहरीले गाडी जलाउनेको पहिचान गर्न पनि सकेको छैन । उनीहरूविरुद्ध मुद्दा चलाउने कामसमेत भएको छैन । घटना भएको एक हप्ता बितिसक्दा पनि प्रहरी/प्रशासन मूकदर्शक बनेको छ ।

तर, प्रहरी भने गाडीमा आगजनी गर्ने समूहको खोजी भइरहेको बताउँछ । ‘आगो लगाउनेहरूको खोजी भइरहेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘अनुसन्धान गरिरहेका छौँ ।’ यस्तै, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि गाडीमा आगजनी गर्नेलाई कानूनी दायरामा ल्याउने बताए । अराजकता मचाउनेलाई प्रशासनले नछाड्ने उनको भनाइ छ ।  

प्राज्ञिक थलो हुनुपर्ने क्याम्पसलाई गुण्डागर्दी तथा हुल हुज्जत गर्ने स्थान बनाइएको स्थानीयको आरोप छ । प्रशासन मूकदर्शक बन्दा राजनीतिक आडमा राज्यको सम्पत्तिमा हानी पुर्‍याउने काम भइरहेको स्थानीय विद्यार्थी नेताहरू नै बताउँछन् । विगतमा भएका यस्तै घटनाका दोषीलाई पक्राउ गरेर कारबाही गर्न नसक्दा अराजकता बढेको अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले बताए ।

राजनीतिक आडमा राज्यको सम्पत्तिमा आगो लगाउनेहरू अहिले पनि खुलेआम हिँडिरहेको उनको भनाइ छ । यसबारे प्रशासन पनि मौन बसेको देख्दा आफूलाई अचम्म लागेको उनले बताए । ‘अस्ति नै कारबाही भएको भए अहिले यो क्षति  हुँदैन थियो होला,’ अध्यक्ष घिमिरेले भने, ‘प्रशासन पनि मौन बसेको देख्दा अचम्म लागेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्