नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० विश्वकपमा नेपालले गरेको प्रदर्शन स्वाभाविक रहेको बताएका छन् ।
प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएपछि बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले ठूला प्रतियोगितामा भन्नेबित्तिकै नतिजा नआउने भएकाले त्यसका लागि अझै कुर्नुपर्ने बताए ।
कप्तान पौडेलले अफगानिस्तानको उदाहरण दिँदै उसलाई पनि ठूला टोलीलाई जित्न दशौँ वर्ष लागेको सम्झाए ।
‘भन्नेबित्तिकै रिजल्ट आउँदैन । अफगानिस्तान पनि २०१४ देखि 'ग्रो' गरेर आजको अवस्थासम्म आएको हो । अन्तिम १० वर्षमा उसले कति हारेको होला !’ उनले भने ।
आगामी दिनमा नेपालले पनि राम्रो गर्ने विश्वास व्यक्त गर्दै कप्तान पौडेलले त्यसका लागि धैर्यता भने आवश्यक रहेको बताए ।
तीन खेल खेलेको नेपाल सबैमा पराजित भएको थियो । बलिया टेस्ट टोली दक्षिण अफ्रिका र बंगलादेशसँग उत्कृष्ट बलिङ हुनका बाबजुद ब्याटिङ नचल्दा हारेको थियो । दक्षिण अफ्रिकासँग मात्र एक रनले हारेको थियो ।
यसबारे कप्तान पौडेलले अमेरिका र वेस्ट इन्डिजको पिच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताए ।
अन्तिम दुई खेलमा सानो लक्ष्यमा पनि नेपाली टोली हार्नुमा नेपाली खेलाडीको अनुभवको कमी नै प्रमुख कारण रहेको विश्लेषण गरिएको छ । तर पौडेलले भने खेलाडीको अनुभवलाई दोष दिन अस्वीकार गरे । ‘हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, उनले भने ।
नेपालले दक्षिण अफ्रिकासँग ११६ र बंगलादेशसँग १०७ रनको लक्ष्य पाएर पनि जित्न सकेको थिएन । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो । यो खेलमा दुवै टोलीले १–१ अंक बाँडेका थिए ।