२६ जेठ २०८३, मंगलबार
जनप्रतिनिधिको विदेश भ्रमण मोह

१४ महिनामा ३३ पालिकाका ५० जनप्रतिनिधि विदेश उडे, कोरिया र चीन जाने सबैभन्दा बढी

काठमाडौंकी उपमेयर डंगोल ४ पटक विदेश पुगिन्, बालेनसहित अरू को कति ?
असार ७, २०८१
काठमाडौं
१४ महिनामा ३३ पालिकाका ५० जनप्रतिनिधि विदेश उडे, कोरिया र चीन जाने सबैभन्दा बढी

१४ महिनामा देशभरका ३३ पालिकाका ५० जनप्रतिनिधिले विदेश भ्रमण गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०८० वैशाखदेखि २०८१ असार ५ गतेसम्म देशभरका कूल ३३ पालिकाका ५० जनप्रतिनिधिले विदेश भ्रमण गरेका हुन् ।

उनीहरूले दक्षिण कोरिया, चीन, दुबई, अमेरिका, बेलायत, थाइल्याण्ड, जापान, मलेसिया र केन्यालगायत देशको भ्रमण गरेका छन् । त्यसमध्ये दक्षिण कोरिया र चीन भ्रमण जाने जनप्रतिनिधि सबैभन्दा धेरै छन् ।

यो सरकारबाट स्वीकृत भएको 'अफिसियल भिजिट'को तथ्यांक मात्र हो । सरकारबाट स्वीकृत नै नगराई निजी कामका नाममा विदेश भ्रमण गर्ने स्थानीय तहका जनप्रतिनिधिको संख्या योभन्दा बढी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निजी भ्रमणको भने कुनै अभिलेख छैन ।

'अफिसियल भिजिट'मा विदेश भ्रमण गर्नेमध्ये काठमाडौं उपत्यका र महानगरका जनप्रतिनिधि बढी छन् । त्यसमध्ये काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल सबैभन्दा धेरैपटक विदेश भ्रमणमा गएको तथ्यांकले देखाउँछ । १४ महिनामा उनले सबैभन्दा बढी चारपटक विदेश भ्रमण गरेकी छन् ।

गत जेठ ११-१३ गते डंगोलले बेलायतको भ्रमण गरेकी थिइन् ।  वडा नम्बर २७ की वडा सदस्य सृष्टि कंशाकारसहित उपप्रमुख डंगोल बेलायत भ्रमण गएकी थिइन् । 'वुमेन अफ दी वर्ल्ड फेस्टिभल'मा सहभागी हुन उनीहरू युके भ्रमणमा गएका थिए ।

त्यसअघि पनि नगर उपप्रमुख डंगोलले वैशाख २६ देखि २९ गतेसम्म चीन, २०८० मंसिर ८ देखि १७ गतेसम्म अस्ट्रेलिया र २०८० फागुन ७ देखि ११ गतेसम्म थाइल्याण्ड भ्रमण गरेकी थिइन् ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह(बालेन)लाई गत जेठ २० देखि २२ गतेसम्म सिंगापुर भ्रमण गर्न सरकारले स्वीकृति दिएको थियो । 'नाइन्थ वर्ल्ड सिटी सेमिनार'का लागि बालेनलाई आमन्त्रण गरिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उनको विदेश भ्रमण स्वीकृत गरेको थियो । विदेश भ्रमण स्वीकृत भए पनि बालेन भने सिंगापुर गएनन् । 

उनी के कारणले गएनन् त्यसको जानकारी मन्त्रालयमा छैन । 'महानगरको प्रस्तावमा उहाँको विदेश भ्रमण क्याबिनेटबाट स्वीकृत भएको थियो,' मन्त्रालयको विकास सहायता समन्वय शाखाका एक कर्मचारीले लोकान्तरसँग भने, 'उहाँ के कति कारणले भ्रमणमा जानुभएन त्यस विषयमा मन्त्रालयलाई कुनै जानकारी गराइएको छैन ।'

सिंगापुर नगए पनि अहिले भने उनी मन्त्रिपरिषद्‌बाट स्वीकृत नै नगराई ब्राजिल पुगेका छन् । असार ५-६ गतेसम्मका लागि उनको ब्राजिल भ्रमण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको थियो । तर, क्याबिनेटबाट स्वीकृत हुन बाँकी नै रहेको अवस्थामा उनी ब्राजिल पुगेका हुन् । 'अहिले उहाँको ब्राजिल भ्रमणको हकमा मन्त्रालयबाट स्वीकृत भए पनि क्याबिनेटको स्वीकृति लिन बाँकी नै थियो,' ती कर्मचारीले भने, 'अबको मन्त्रिपरिषद्‌ बैठकबाट उक्त भ्रमण स्वीकृत हुन्छ होला ।'

'मेट्रो पुलिस बोर्ड अफ डाइरेक्टर्स मिटिङ'मा सहभागी हुन् बालेन ब्राजिल पुगेका हुन् । काठमाडौं महानगर  बोर्डको सदस्य हो ।

nullnull

यसअघि २०८० कात्तिक १४ देखि २२ गतेसम्म महानगरका प्रवक्ता तथा १० जना वडाध्यक्षसहित ११ जनाको टोलीले चीन भ्रमण गरेको थियो । महानगरका प्रवक्ता नविन मानन्धर र वडाध्यक्षहरू बालकृष्ण महर्जन, योगेश खड्की, विमलकुमार होडा, वीरेन्द्र प्रजापति, प्रेम थापा, राजेश डंगोल, आशामान संगत, न्हुच्छेकाजी महर्जन, राजेन्द्र मानन्धर र मैयालक्ष्मी महर्जनसहित ११ जना 'वेस्ट म्यानेजमेन्ट टेक्नोलोजी' र 'वेस्ट पावट जेनेरेसन प्रोजेक्ट'को अवलोकन भ्रमणमा गएका थिए ।

गत जेठ ७ देखि १५ गतेसम्म चितवनको भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहालले चीन भ्रमण गरेकी थिइन् । 'इन्टरनेश्नल सिटिज को-अपरेसन कन्फरेन्स'मा सहभागी हुन् उनी चीन गएकी थिइन् ।

त्यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि २०८० चैत ६-७ सम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गरेका थिए ।  २१औं 'एनुअल ट्रान्सफर्मिङ ट्रान्सपोर्टेसन कन्फरेन्स'मा सहभागी हुन उनी अमेरिका पुगेका थिए ।

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले २०८० वैशाख ८ देखि १५ गतेसम्म जापानको भ्रमण गरेका थिए ।

धनगढी उपमहानगरका नगर प्रमुख गोपाल हमालले २०८० वैशाख १२ देखि १५ गतेसम्म सेनेगल र बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले २०८० असोज ४ देखि ७ गतेसम्म मलेसियाको भ्रमण गरेका थिए ।

त्यसैगरी, नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले २०८० साउन ८ देखि ११ गतेसम्म थाइल्याण्ड र घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले २०८० वैशाख ३० देखि जेठ २ गतेसम्म बेलायतको भ्रमण गरेका थिए ।

त्यसैगरी हेटौडा उपमहानगरका नगर प्रमुख मिनाकुमारी लामाले दुईपटक विदेश भ्रमण गरेकी छन् । उनले २०८० मंसिर १९ देखि २५ गतेसम्म चीन  र २०८० कात्तिक ६ देखि ८ गतेसम्म दक्षिण कोरिया भ्रमण गरेकी हुन् ।

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले पनि दुईपटक विदेश भ्रमण गरेका छन् । उनले २०८० साउन १५ देखि १९ गतेसम्म र २०८० कात्तिक ६ देखि ८ गतेसम्म गरी दुईपटक दक्षिण कोरियाको भ्रमण गरेका छन् ।

त्यसैगरी काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले तीनवटा देशको भ्रमण गरेका छन् । उनले २०८० माघ २९ देखि फागुन २ गतेसम्म दुबई, २०८० कात्तिक ११ देखि १२ गतेसम्म चीन र २०८० जेठ २२ देखि २६ गतेसम्म केन्याको भ्रमण गरेका छन् ।

काठमाडौंकै नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतले २०८० मंसिर १४ देखि २६ गतेसम्म दुबई र उपप्रमुख सुशीला अधिकारीले २०८० माघ २१ देखि फागुन ५ गतेसम्म जापानको भ्रमण गरेकी हुन् ।

ललितपुरको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, महालक्ष्मी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी महर्जनले २०८० मंसिर ३ देखि १६ गतेसम्म जापानको भ्रमण गरेका थिए ।

तीबाहेक अन्य स्थानीय तहका जनप्रतिनिधिले पनि विभिन्न देशका भ्रमण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्