१२ असार २०८३, शुक्रबार

असार लागे पनि पानी नपरेपछि जुम्लाका किसान चिन्तित

असार ७, २०८१
जुम्ला
असार लागे पनि पानी नपरेपछि जुम्लाका किसान चिन्तित

असार सुरु भए पनि पानी नपरेपछि जुम्लाका किसान चिन्तामा परेका छन् । अहिले कोदो र अन्य बाली लगाउने समय हो । तर, वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकिएको तिला गाउँपालिका–१ का स्थानीय किशोर रावतले बताए ।

'पानी परेको छैन, खेतबारी सुक्खा छन् । सिँचाइको कुनै सुविधा छैन । यसपालि असार लागे पनि खेतीपातीको काम भएको छैन । गाउँमा खाद्यन्न संकट आउने हो कि भन्ने चिन्ता थपिएको छ,' उनले भने । 

उनका अनुसार गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो । यस वर्ष वर्षा नहुँदा कृषि उत्पादनमा ह्रास आउन सक्ने उनले बताए । 

विषेशगरी यहाँका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवामा खडेरीका कारण क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए । हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका– ४ का किसान रतन रोकायाले बताए । 

जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन । वर्षा नभएको खण्डमा यो वर्ष जिल्लामा खाद्यन्नबालीदेखि स्याउ उत्पादनमा कमी आउनसक्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा हालसम्म १६ हजार घरधुरी स्याउखेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ । यहाँका किसानको आम्दानीको मुख्य आयस्रोत नै स्याउखेती हो । पछिल्लो समयमा स्याउ खेतीको बीमाको महत्वबारे जानकार भएपछि जिल्लाका आठवटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको जनाइएको छ ।

असार धान रोप्ने महिना हो । विगतका वर्षमा जेठको अन्तिमसम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यसवर्ष पानी नपर्दा यहाँको हिमा, तिला गाउँपालिका किसानले रोपाइँ गर्न पाएका छैनन् । 

पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा गाउँपालिका–४ का स्थानीय माया रोकायाले जानकारी दिइन् । सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ । अकाशे पाानीको भरमा परेका किसानका लागि यो वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्