प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पारित नभएसम्म संसद्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
शुक्रबार अपरान्ह नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
‘आगामी आर्थिक वर्ष २०८१–८२ को विनियोजित विधेयक (बजेट) आगामी संसद् बैठकमा निर्णायार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । असार ९ गतेबाट शुरू हुने सबै बैठकमा विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत नहुन्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको छ,’ उनले भने ।
यस्तै कांग्रेसले जनताको सरोकारका समसामयिक विषयलाई संसदमा खरोरुपमा उठाउन पनि आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
‘प्रतिपक्षी भएका नाताले जनताका विषयलाई संसदमा उठाउनुपर्ने दायित्व कांग्रेसको हो । यसैका लागि सांसदलाई निरन्तर उपस्थित हुन र जनताका विषय उठान गर्न निर्देशन दिइएको हाे,’ लेखकले भने ।
संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा सांसदहरूले आफ्नो धारणा पनि राखेको उनले जानकारी दिए ।