
आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आयोजक वेस्ट इण्डिजले अर्को आयोजक अमेरिकाविरुद्ध सानदार जीत हासिल गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा वेस्ट इण्डिजले अमेरिकालाई ९ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गरेर अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इण्डिजले १०.५ ओभरमा मात्रै एक विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इण्डिजका लागि साई होपले ८२ रनको सानदार इनिङ्स खेले । ३९ बलको सामना गरेका उनले ४ चौका र ८ छक्का प्रहार गरे । यस्तै, निकोलस पूरनले २७ र जोन्सन कार्लेसले १५ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो । अमेरिकाका लागि ओपनर ब्याट्सम्यान एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए । नितिश कुमारले २० रन थपे ।
जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ ।