
काठमाडौं, ५ कात्तिक — बलिउड अभिनेता आदित्य पञ्चोलीसँग फोनमा ४० लाख रुपैयाँ फिरौती मागिएको छ । फोन गर्ने मान्छेले आफूलाई त्यति रकम नदिइए ज्यान मार्ने धम्की दिएको पञ्चोलीले बताएका छन् ।

उनले मुम्बईको वर्सोवा प्रहरी चौकीमा लिखित उजसरी दिएका छन् । तर एफआईआर दर्ता भएको छैन । मुम्बई क्राइम ब्रान्चको फिरौतीविरोधी सेलले घटनाको अनुसन्धान गरिरहेको छ ।
पञ्चोलीको उजुरी अनुसार, मुन्ना पुजारी नामक एक व्यक्तिले १८ अक्टोबरदेखि अहिलेसम्म तीन फरक नम्बरबाट कल गरिसकेको छ । फोन नउठाउँदा उसले मेसेज पनि पठाएको छ ।
उसले गाली पनि गरेको र पैसा नपाएमा ज्यान मार्ने धम्की समेत दिएको थियो । फिरौती माग्नेले आफ्नो बैंक अकाउन्ट नम्बर दिएर त्यसैमा पैसा हाल्न लगाएको थियो ।
प्रहरीले आफ्नो क्रिमिनल रेकर्डमा मुन्ना पुजारी नामक अपराधी छैन । कुख्यात माफिया डन छोटा राजनका चम्चा रवि पुजारीले चाहिँ व्यापारी र बिल्डरहरूलाई धम्कीसहितको कल गर्थ्यो तर ऊ भारत छोडेर भागिसकेको छ ।
गत मार्च महिनामा निर्देशक महेश भट्टलाई पनि फोन गरेर ८० करोड रुपैयाँ फिरौती मागिएको थियो ।
आदित्य पञ्चोली यसअघि पनि विवादमा परिरहेका अभिनेता हुन् । उनीमाथि अभिनेत्री पूजा वेदीकी १५ वर्षीया घरेलु कामदारलाई बलात्कार गरेको आरोप छ । अभिनेत्री कंगना रनावतले पनि आदित्यविरुद्ध दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
एजेन्सी