
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासङ्घ नेपालले संयुक्तरुपमा आज आयोजना गरेको ‘युथ लिडरसिप समिट–२०२४’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।
मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको उनले जानकारी दिए । बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ ।
राजनीतिक परिवर्तन पछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै उ उपप्रधानमन्त्री श्रेष्ठले भने, 'यसमा आलोचना गरौं तर मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौं, सकारात्मक विषयलाई मनन गरौं, समस्यालाई सच्याएर अगाडि बढौं ।'