२७ जेठ २०८३, बुधबार

कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी १४ वर्षपछि पक्राउ

असार ८, २०८१
बुटवल
कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी १४ वर्षपछि पक्राउ

कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादीलाई कपिलवस्तु प्रहरीले करिब डेढ दशकपछि पक्राउ गरेको छ ।

जिल्ला कारागार तौलिहवा कपिलवस्तुबाट विक्रम संवत् २०६६ माघ २ गते सुरुङ खनेर भागेका भारतीय नागरिक मोहम्मद स्कुललाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो ।

स्कुल मिया अन्सारी भनेर चिनिने मोहम्मद भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया निवासी रहेको बताइएको छ ।

कारागारबाट सुरुङ खनेर भागेका ८ जना कैदी मध्येका उनी पक्राउ परेका हुन् ।

६ वर्ष ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना असुल उपर गर्नुपर्ने उनलाई जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ बाट कपिलवस्तु प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले जानकारी दिए ।

उनीसहितका ८ जना २१ फिट सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए ।

कारागारबाट भाग्नेहरूमा डाँका मुद्दामा कैद सजाय भोग्दै आएका मोहम्मद स्कुल सहित कर्तव्य ज्यान मुद्दाका रामजस मौर्य, प्रभु तेली र श्रवण कुमार मुराउ थिए ।

त्यस्तै लागुऔषधका सन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार साहनी, बगेदु मुसलमान र जबर्जस्ती करणी मुद्दाका सन्तकुमार पासी कारागारबाट भागेका थिए । ​

सुरुङ खनेर भागेका ७ जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले यसअघि पक्राउ गरिसकेको थियो । मोहम्मद स्कुल पक्राउ परेसँगै सुरुङ खनेर भागेका ८ जना फरार प्रतिवादी सबै पक्राउ परेका छन् ।

कपिलवस्तु प्रहरीले चालू आर्थिक वर्षको हालसम्म १२६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जसबाट १४७ वर्ष १० महिना कैद भुक्तानी र १६ लाख १३ हजार ५४५ रुपैयाँ जरिवाना असुल हुनेछ ।

अपराध गर्ने व्यक्ति अनुसन्धान पूरा नहुँदै फरार भएको भए अनुसन्धान पूरा गरी कारबाही अगाडि बढाउन र अदालतले सजाय तोकेका व्यक्ति फरार रहेको भए उनीहरुलाई कानुनको दायरामा ल्याउनका लागि कपिलवस्तु प्रहरीले फरार अपराधी पक्राउलाई प्राथमिकतामा राखेको हो ।

salt training

कमेन्ट गर्नुहोस्