
डा बालकृष्ण साह अलि फरक किसिमका चिकित्सकको रुपमा गनिन्छन् । उनले आर्थिक अवस्था कमजोर भएकालाई सित्तैमा समेत उपचार गरिदिने गरेका छन् । केही समयअघि मात्रै उनले पत्रकार सम्मेलन गरेरै आफूले सित्तैमा उपचार गरेका व्यक्तिहरूबारे जानकारी गराएका थिए । यससँगै उनी गरिब र असहायका साहारा बनेका छन् । यसले उनको लोकप्रियता बढाएको छ । स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा बालकृष्णलाई कतिपयले ‘सेलेब्रिटी’ चिकित्सकका रुपमासमेत चिन्ने गर्छन् ।
सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–९ मा विसं २०३६ सालमा जन्मिएका उनले प्रारम्भिक शिक्षा गाउँबाटै गरेका थिए । शनिश्चरे प्राथमिक विद्यालयबाट कखरा सिकेका थिए उनले । त्यसपछि उनले इनरुवाको भगवती माध्यमिक विद्यालयमा पढे । पढाइमा उनी अब्बल थिए । उनले इटहरीको गोदावरी विद्या मन्दिरबाट सजिलै एसएलसी पास गरे, अनि थप पढाइका लागि काठमाडौं जाने निधो गरे । त्रि–चन्द्र कलेजमा उनी आईएस्सी पढ्ने सुरले भर्ना भए । तर त्यहाँ उनको मन अडिएन । किनकि स्कूल लेभलका आफ्ना साथीहरू सबै पाटन संयुक्त क्याम्पसमा पढ्ने गर्थे । त्यसपछि उनले त्रि–चन्द्र कलेज छोडेर पाटन क्याम्पसमै आईएस्सी पढ्न थाले । आईएस्सी सकेर उनले केही समय आइए पढे । यो पनि लहडमै थियो । फेरि उनले पुरानै लयमा फर्किने निर्णय गरे । अनि एमबीबीएसमा भर्ना भए । यति हुँदा पनि उनको डाक्टर बन्ने योजना भने थिएन । मावली खलक मेडिकल पृष्ठभूमिका थिए । यसैले उनीहरूले डाक्टर बन्नुपर्छ भनेर बालकृष्णलाई कर गरिरहन्थे । एसएलसी पछाडि ल (कानून विषय) पढ्ने उनको रहर थियो । ‘मेरो साेख वकिल बनेर गरिब र असहायको पक्षमा निःशुल्क मुद्दा लड्ने थियो,’ उनी भन्छन् । तर उनको यो इच्छा पूरा हुन सकेन । किनकि, त्यतिबेला लको पढाइ बन्द भइसकेको थियो । त्यसपछि उनले आईएस्सी पढ्न शुरू गरेका हुन् ।
आईएस्सी सकिएपछि नै बालकृष्ण विद्यालयमा पढाउँथे । एमबीबीएस पढ्दा ‘पार्ट टाइम’ पढाउन थाले । एमबीबीएस सकिएपछि उनी एक निजी अस्पतालमा काम गर्न काठमाडौंबाट झापा आए । झापाको चारआलीमा रहेको माता पाथीभरा अस्पतालबाट उनको पहिलो जागिरे यात्रा तय भएको थियो । यसको पनि कहानी छ । अस्पतालका सञ्चालकहरू उनलाई खोज्दै काठमाडौं नै गएका थिए । इन्टर्नसिप सकिन २–४ दिन बाँकी हुँदै उनलाई खोज्दै सञ्चालकहरू काठमाडौं गएका हुन् । ‘इन्टर्नसिप सकिनभन्दा अगाडि नै एनएमसी नम्बर आउने गरेकाले अस्पतालमा सञ्चालकहरू मलाई खोज्न काठमाडौं आउनुभएको रहेछ । उहाँहरू आएर जागिरको प्रस्ताव गरेपछि म झापा पुगेको हुँ,’ उनी भन्छन् । तर उनी झापाको त्यो निजी अस्पतालमा टिक्न सकेनन् । ‘केही समयमै माता पाथीभरा अस्पतालबाट सम्बन्ध टुटेको थियो,’ उनले सम्झिए । निजी अस्पतालमा काम गर्दा समस्या हुने उनी बताउँछन् । गरिब असहायको उपचारमा छुट दिन नपाएपछि काम गरिरहेको अस्पतालबाट बाहिरिएको उनले सुनाए । त्यसपछि उनले तत्कालीन मेची अञ्चल अस्पतालमा सेवा दिन थाले । ‘उपचारका लागि गरिब–असहाय आउँदा छुट दिनसमेत नपाउने भएपछि मैले निजी अस्पतालमा जागिर खान्न भनेर मेची अञ्चल अस्पतालबाट सेवा दिन शुरू गरेँ,’ उनले भने, ‘मेचीबाट सिकाइको राम्रो अनुभव हासिल भयो । सरकारी अस्पताल भएकाले धेरैको ज्यान बचाउन सकेँ । ’
यसपछि बालकृष्णले नेपाल सरकारको छात्रवृत्तिमा वीर अस्पतालको नेसनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स)मा अध्ययन गर्ने अवसर पाए । २०७१ मा कोशी अस्पतालमा दुईजना स्त्री तथा प्रसूतिरोग विशेषज्ञले अवकाश लिएका थिए । साथै चार जनाले राजीनामा दिएपछि कोशी अस्पतालमा तनाव शुरू भएको थियो ।
यस्तो अवस्थामा मेडिकल सुपरिन्टेन्डेन्ट डा उमाकान्त झाले कोशी अस्पताल आउन आग्रह गरेका थिए । डाक्टर झाले पटक–पटक ताकेता गरेपछि उनले रिजल्टसम्म कुरेर २०७१ मा कोशी अस्पतालमा सेवा शुरू गरेका हुन् । उनले कोशीमा ८ महिना काम गरेका थिए ।
डा बालकृष्णले देशका केही जिल्लामा काम गरेका छन् । तेह्रथुम र सुनसरीको सदरमुकाम इनरुवामा उनले थुप्रै महिलाको शल्यक्रिया गरेका छन् । अहिले उनले मोरङ सहकारी अस्पतालमा काम गरिरहेका छन् । अनुमानित ७ हजारजति शल्यक्रिया गरेको उनी सुनाउँछन् । मोरङ सहकारीमा काम शुरू गर्नुभन्दा अगाडि उनले अस्पतालका सञ्चालकहरू शर्त नै राखेका थिए । ‘उपचारका लागि गरिब र असहाय आए भने कसैलाई नसोधी छुट दिन्छु भन्ने गरेको थिएँ । उहाँहरूले स्वीकार्नु भएकै कारण म अहिलेसम्म यहाँ छु,’ उनी भन्छन्, ‘म महिनामा ३० वटा जति अप्रेसन गर्छु । अप्रेसनको पैसा राम्रै हुन्छ । बिलमा उठेको ५० प्रतिशत डाक्टरले लिन्छन् । मैले चाहको भए ५ लाख कमाउन महिना दिन पनि कुर्नु पर्दैन थियो । तर मेरो महिनाको कमाइ ५ लाख पनि पुग्दैन । मभन्दा पछाडि आएका साथीहरूले पैसा राम्रो कमाएका छन् । तर यसले मलाई फरक पारेको छैन ।’

जग्गा बेचेर डाक्टरी पढाइ
डा बालकृष्णको पारिवारिक अवस्था मध्यम वर्गीय हो । गाउँमा १२ बिगाहा जमिन त थियो, तर धान मात्र बेचेर फाइदाको कमाइ खासै हुँदैनथ्यो । उनीहरूसँग जग्गा–जमिनबाहेक अन्य आयस्रोत एकदमै कम थियो । एमबीबीएस गर्दा धान बेचेको पैसाले नपुगेपछि जग्गा बेचर पढेको उनले सुनाए । आमाबाबुले छोराको पढाइका लागि खर्चको अभाव हुन भने नदिएको उनी बताउँछन् ।
डा बालकृष्ण जन्मिएको समयमा देशमा व्यवस्थाबारे जनमतसंग्रह भइरहेको थियो । सुधारिएको पञ्चायत र बहुदलीय व्यवस्थाबारे जनमतसंग्रह भएको थियो । यही बेला अर्थात २०३६ सालमा उनी जन्मिएका थिए । त्यो बेला जन्मिएका एकजना छिमेकीको नाम ‘बहुदले’ राखिएको थियो । यो कुरा उनले आमाबाट थाहा पाएका हुन् । ‘मभन्दा १५ दिनअगाडि मेरो छिमेकमा जन्मिएका एक जनाको नाम बहुदले राखिएको आमाले भन्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘तर मेरो नाम चाहिँ बहुदलसँग सम्बन्धित होइन ।’
‘बालकृष्ण’ पण्डितले जुराएको नाम हो । तर यो नाम उनीहरूको परिवेश र समुदायमा भने नौलो भएको बालकृष्ण बताउँछन् ।
लेखनसँगै सामाजिक काममा पनि
डा बालकृष्ण लेखनसँगै सामाजिक काममा पनि व्यस्त छन् । ‘गर्व’ नामको पुस्तक उनले बजारमा ल्याएका छन् विभिन्न सञ्चारमाध्यममा उनका लेख आइरहेका हुन्छन् । अब उनले बिरामीहरूको कथा लेख्ने सोच बनाएका छन् ।
उनी तेली कल्याण समाज मोरङको अध्यक्ष हुन् । उनी लायन्स क्लब लगायतका संघ–संस्थामा समेत आबद्ध छन् ।
डा बालकृष्ण स्कूले जीवनदेखि नै बहुआयामिक व्यक्ति थिए । आफूले पढेको विद्यालयमा पंखा बिग्रियो भने पनि उनैले बनाउने गर्थे । ‘आफू पढेको विद्यालयमा मैले लायन्स क्लबमार्फत मन्दिर बनाएको छु,’ उनले भने ‘अहिले पनि विद्यार्थीलाई स्टेसनरी चाहियो भने मलाई फोन आइहाल्छ ।’
डा बालकृष्णलाई संसारका विभिन्न प्राकृतिक स्थलमा घुम्ने इच्छा छ । आफू वैशाखमा जन्मिएकाले प्रकृतिप्रेमी भएको उनले सुनाए ।