
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश (१)ले आज आयोजना गरेको ‘दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
'पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन सकिन्छ,' उनले भने ।
महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे वृहत् छलफल गरिने बताए ।
उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे। 'निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ,' उनले भने ।