
धादिङ, ५ कात्तिक– केन्द्रीय स्तरमै हैसियत बनाएका नेताहरु प्रदेश सभामा उम्मेदवार बनेपछि धादिङको चुनाव रोचक बनेको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका माओवादी केन्द्रका शालिकराम जमकट्टेल र २०७० सालको चुनावमा विजयी भएका राजेन्द्र पाण्डे दुवै प्रदेश सभाको उम्मेदवार बनेका छन् ।
पहिलो संविधानसभा चुनावमा जमकट्टेलले पाण्डेलाई पराजित गरेका थिए भने दोस्रोमा पाण्डेले जमकट्टेललाई पराजित गरेका थिए । एमाले पोलिटव्युरो सदस्य समेत रहेका पाण्डे पूर्वमन्त्री हुन् ।
वामपन्थीका तर्फबाट प्रतिनिधि सभाका लागि धादिङ १ मा प्रतिनिधि सभातर्फ एमालेका भूमी त्रिपाठी तथा २ मा खेमप्रसाद लोहनी उम्मेदवार बनेका छन् । प्रदेश सभातर्फ एमालेका डा.रामकुमार अधिकारी र माओवादीका जगत सिंखडा उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा विश्व अर्याल तथा क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन उम्मेदवार बनेका छन् । जमकट्टेल माओवादी निकट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष हुन् ।
पाण्डे यसअघि एमालेको मुख्य सचेतक समेत बनेका थिए । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ बाट मधुकुमार श्रेष्ठ र प्रभातकिरण सुवेदी तथा २ बाट रमेश धमलालाई कांग्रेसले उम्मेदवार बनाएको छ । लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका डम्बरबहादुर तामाङ पनि उम्मेदवार बनेका छन् ।

यसअघि तीन निर्वाचन क्षेत्र रहेको धादिङमा नेकपा एमालेले तीनवटै क्षेत्रमा विजय हासिल गरेको थियो । माओवादीसँगको वामपन्थी तालमेलका कारण यसपटक आफूहरुलाई सझिलो पर्ने एमालेको दावी छ ।
नेपाली काग्रेसले पनि धादिङमा वामपन्थी गढ भत्काउने बताउँदै आएको छ ।