
झलनाथ खनाल सर्पपालन प्रतिष्ठानमा भएको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादवसहित ५ जना दोषी ठहर भएका छन् ।
मधेशका तत्कालीन अर्थमन्त्री यादवसहित ५ जनालाई मंगलवार विशेष अदालतले दोषी ठहर गरेको हो ।
अध्यक्ष न्यायाधीश एकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यादवसहित रेवतीप्रसाद पन्त, नातीबाबु भनिने नवराज भण्डारी, देवेन्द्र राई र नीरज भण्डारीलाई कसुरदार ठहर गरेको हो ।
पन्त झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समितिका तत्कालीन अध्यक्ष हुन् । यस्तै नवराज महासचिव र नीरज कोषाध्यक्ष हुन् ।
तत्कालीन मन्त्री यादवले आफूसँग नभएको अधिकार र हैसियत प्रयोग गरी सरकारकाे १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ रकम हिनामिना गरेको ठहर विशेष अदालतले गरेको छ ।प्रतिवादीहरू पन्त, नवराज, नीरज र राई मतियारको रुपमा दोषी देखिएका हुन् ।
यस्तै प्रतिवादीहरू मानबहादुर खड्का र प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।
कसुर ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण तथा कार्यान्वयनका लागि आगामी असार २५ गते पेशी तोकिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
दोषी ठहर भएका पूर्वमन्त्री विजयकुमार यादव उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालका नेता हुन् ।
पछि उनलाई मधेश प्रदेशमा अर्थबाट हटाएर कृषि मन्त्रालयमा मन्त्रीको जिम्मेवारी दिइएको थियो ।
२०७९ को निर्वाचनमा यादव प्रदेशसभामा पराजित भएका हुन् ।
यादव लालबाबु राउत नेतृत्वको मधेश सरकारमा दुईपटक मन्त्री बनेका थिए । उनी सिरहाबाट राजनीति गर्छन् ।
रेवतीराज पन्त एमाले सर्लाहीका नेता हुन् । उनी एमालेको तर्फबाट मधेश प्रदेशको पहिलो उपाध्यक्ष हुन् ।
सफाइ पाएका मानबहादुर खड्का पूर्वमेयर हुन् । प्रेमकुमार श्रेष्ठ प्रदेशस्थित अर्थ मन्त्रालयका तत्कालीन सचिव हुन् ।
सर्लाहीको लालबन्दीमा उक्त प्रतिष्ठान खोल्नका लागि भ्रष्टाचार भएको हो ।