
नेपाल-भारत सीमामा तारबार गर्ने विषय असान्दर्भिक र हास्यास्पद भएको सरोकारवालाहरूले बताएका छन् ।
नेपाल-भारत खुला सीमा सम्वाद समूहले बुधबार पर्सामा आयोजना गरेको 'नेपाल-भारत खुला सीमा - सुमधुर सम्बन्धको सेतु' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता जनताबीच सम्बन्ध कायम रहेको बताए ।
नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानूनले मात्रै चल्न नसक्ने उनको भनाइ थियो । खुला सीमा दुवै देशका लागि अवसर भएको उनले बताए ।

यस्तै, सम्वाद समूहका राष्ट्रिय अध्यक्ष डा. राजीव झाले ईपीजी रिपोर्ट बनाउने समिति समावेशी नभएको आरोप लगाए । नेपाल-भारत सीमासम्बन्धी ज्ञान नभएका व्यक्तिहरूले बनाएको उक्त रिपोर्ट मान्न नसकिने उनले बताए । दुनियाँ वर्ल्ड ग्लोबलाइजेसनतर्फ अग्रसर भइरहेको बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यास्पद रहेको उनको भनाइ थियो ।
त्यस्तै, अर्का वक्ता चर्चित पत्रकार चन्द्रकिशोरले सीमा सुरक्षाको नाममा मधेशमा सैनिकीकरण भइरहेको बताए । सीमा क्षेत्रमा रहेका जनताको भावनाअनुरूप नियम कानून बनाउनुपर्ने उनको भनाइ थियो ।
यस्तै, भारत रक्सौलका समाजसेवी महेश अग्रवालले खुला सीमा दुवै देशका जनताको आवश्यकता रहेको बताए ।
प्रदेश सभा सदस्य श्याम पटेलले सरकारले चाहँदैमा बोर्डरमा तारबार गर्न नमिल्ने तर्क राखे ।
प्राध्यापक डा. प्रमोदकुमार कुशवाहले हाम्रो शिक्षा प्रणाली नै ठीक नभएकोले जनतामा सीमासम्बन्धी भ्रम रहेको बताए।

सम्वाद समूहका अध्यक्ष डा. झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुवै देशमा अगुवाहरूका साथै कार्यक्रममा डा. घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्र, शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्य, भारतीय महावाणिज्यदूतावासका शशी भूषण, अनिरुद्धसिंह कलवारलगायत समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, पत्रकार, राजनीतिकर्मीको विशेष उपस्थिति थियो ।