
पहिरोले घर पुरिएर ज्यान गुमाएकी कास्कीको मादी गाउँपालिका–५ की आयुष्मा रानाभाटको परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत उपलब्ध गराएको छ ।
पहिरो पीडित आयुष्माको परिवारलाई बिहीबार जिल्ला विपद् व्यवस्थापन कोषबाट दुई लाख हस्तान्तरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे नेतृत्वको टोलीले घटनास्थलमै पुगी राहत प्रदान गरेको हो ।
विपद्कामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, २०७७ बमोजिम रकम हस्तान्तरण गरिएको प्रजिअ पाण्डेले बताए ।
मंगलबार राति पहिरोले घर पुरिँदा १३ वर्षे आयुष्माको घटनास्थलमै मृत्यु भएको थियो । सँगै सुतेकी हजुरआमा ७० वर्षे लालमाया वञ्जारको भने सकुशल उद्धार गरिएको थियो ।
मङ्गलबार राति नै पोखरा महानगरपालिका–२७ आरुपाटाको पहिरोमा परी ज्यान गुमाएका तीन वर्षीय अनमोल सुनारको परिवारलाई कागजात आउनेवित्तिकै राहत उपलब्ध गराउने प्रजिले पाण्डेले बताए ।
अनमोलकी आमा रितु सुनारको गण्डकी मेडिकल कलेजको आइसीयुमा उपचार भइरहेको छ । प्रजिअ पाण्डेसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ । समितिको आग्रहमा रितुको उपचार अस्पतालले निःशुल्क गरिदिने भएको प्रजिअ पाण्डेले जानकारी दिए ।
कास्कीमा बाढीपहिराको उच्च जोखिम रहेकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ । राहत र उद्धारका लागि टोली सतर्क अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।