३१ जेठ २०८३, आइतबार

ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

असार १४, २०८१
तनहुँ
ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

तनहुँको व्यास नगरपालिकाले ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क  एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । 

व्यास नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा ७० वर्ष माथिका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाको सुविधा दिने उल्लेख गरिएको हो । 

सङ्घीय र प्रदेश सरकारसँगको सहकार्यमा अति विपन्न एवं अपाङ्गताको स्वास्थ्य बीमा गर्ने नीति अवलम्बन गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । 

उनका अनुसार व्यास नगरपालिकाभित्रका विपन्न परिवारको तथ्याङ्क लिई जटिल रोग लागेका परिवारलाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइने  छ । 

व्यास नगरभित्रका गर्भवतीको नियमित स्वास्थ्य परीक्षण एवं संस्थागत सुत्केरी प्रोत्साहन भत्ताको व्यवस्थालाई निरन्तरता दिइने भएको छ । विपन्न नागरिकलाई गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा र आर्थिक सहयोगलाई निरन्तरता दिई सङ्घ सरकारको सहयोगमा जटिल रोग लागेका बिरामीलाई उपचारमा सहयोग गर्ने व्यवस्थालाई नियमित र विश्वसनीय बनाइने भएको छ ।

व्यास नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूको सेवालाई स्तरीकरण गर्दै हरेक वडामा स्वास्थ्य स्वयंसेविकाहरूको सहयोगमा सरुवा रोगलगायत सङ्क्रमणबाट नगरवासीलाई सुरक्षित राख्न आवश्यक व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि अत्यावश्यक औषधि, स्वास्थ्य उपकरण तथा सामग्री आपूर्तिको व्यवस्था मिलाइने व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । 

'व्यास–११ स्थित बाघेचौरमा तयार गरिएको गुरुयोजनाअनुसार शिक्षण अस्पताल स्वीकृतिका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिने छ,' उनले भने, 'अपाङ्गता क्षेत्रमा विशेष गरी मनोसामाजिक अपाङ्गता भएकालाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने योजना लिइएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्