
रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार युवा विदेश गइरहेका बेलामा नेपालमा भने विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिररहेका छन् ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ ।
नेपालमा उच्च दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ । नेपालमा खास गरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।
विभागका निर्देशक मणिनाथ गोपले आवको ११ महिनाको अवधिमा नयाँ श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिए पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने अघिल्लो वर्षभन्दा बढेको बताए ।
विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न आउने विदेशीको सङ्ख्या क्रमशः घट्दो दरमा रहेको देखिन्छ । गत आवको जेठसम्म नवीकरण र नयाँ गरी दुई हजार ६०५ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए । चालु आवमा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको सङ्ख्या दुई हजार ३३६ रहेको छ । यो हेर्दा गत वर्षको तुलनामा यो वर्ष २६९ जनाले घटेको छ । आजको गोरापत्र दैनिकमा खबर छ ।