
नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले ‘ओठ निचोरे दूध आउने माननीय’ भनेर दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेकी सांसदले नियमापत्ति गरेकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्ने क्रममा सांसद बस्नेतले कलिलादेखि दारी फूलेका माननीयले टेरामक्सबारे कुरा उठाउने गरेको बताएका थिए ।
‘टेरामक्सबारे बेलाबेलामा एकदम कलिला ओठ निचोरे दूध आउने माननीयदेखि दारीजुंगा फुलेका सबैले कुरा उठाइराख्नुभएको छ, उचित दिन आएछ भने म यसको जवाफ दिनेछु,’ बस्नेतले भने ।
बस्नेतको भनाइलाई लिएर एमाले सांसद सम्झना थपलियाले नियमापत्ति गरिन् । ‘माननीयले जुन भाषा प्रयोग गर्नुभयो, त्यो संसदीय मर्यादाबाहिर छ । ओठ निचोर्ने माननीय, कलिलो र छिप्पिएको माननीय भन्ने हुँदैन,’ उनले भनिन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले सल्लाह गरेर निर्णय लिने भन्दै संसद् बैठक अगाडि बढाउन आग्रह गरे ।
संसदभित्र बोल्दा कसैलाई होच्याउन या अमर्यादित भाषा बोल्न मिल्दैन । त्यस्ता असंसदीय भाषालाई संसद्को ‘रेकर्ड’बाट हटाउने गरिएको छ ।
बस्नेतको भाषा असंसदीय हो या होइन भन्नेबारे सभामुखले यकिन गरेनन् ।
सांसद बस्नेतले अर्बौं रूपैयाँ राजस्व जोगाउने टेरामक्स प्रविधि नेपालका लागि आवश्यक रहेको दाबी गरे । उनले यसबारे आवश्यक परेको समयमा बोल्ने बताए ।
तत्कालीन सञ्चारमन्त्री बस्नेतको पालमा टेरामक्समा अनियमितता भएको निष्कर्ष अख्तियारले निकालेको छ ।
टेरामक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले भ्रष्टाचार मुद्दा दर्ताको तयारी गरिरहेको छ ।