
लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ ।
बा १ ज ८४ ५७ नम्बरका माइक्रो चालक ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ का २२ वर्षीय कृष्ण कार्की, बा ५ ख ९५ ०८ नम्बरका बस चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ का ३८ वर्षीय भोपेन्द्र भण्डारी, बा ५ ख ४३ ०० नम्बरका बस चालक चितवनको राप्ती नगरपालिका ७ का ३१ वर्षीय रमेश वि.क. र बा ६ ख ३० ०६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका १२ का ३३ वर्षीय टिकाराम श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव, Drugs kit मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।
जगातीमा आज २५ ओटा सवारी साधनलाई चेक गर्दा ४ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगाती बुझाइएको छ ।
यसैबीच काठमाडौंको सितापाइलामा आजै गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ५३ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ३१ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।