
जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने गर्छन् । तर्क हो, गर्न पाइन्छ तर, वास्तविकता के हो भने यी दुवै अतिवाद हुन् । यसको अर्थ हो पूरै आशावादी हुनु पनि ठीक होइन र पूरै निराश हुनु पनि ठीक होइन । आशावादी मात्र हुँदा पनि केही पाइन्न । निराशावादी भएर पनि पाउन सकिन्न । अन्ततः दुवै दुःखका कारण बन्न पुग्छन् ।
प्रश्न उठ्न सक्छ त्यसो भए के गर्ने त ? उत्तर हो आशा गर्ने पनि नगर्ने पनि । कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर, आश्चर्य मान्नुपर्दैन । आशावादी हुने भनेको आफैँप्रति आशा गर्नु हो, आफ्नै जीवनप्रति गर्ने हो । निराशावादी हुनु भनेको आफूबाहेक अरू निराश हुनु हो, कसैसँग पनि आशा नगर्नु हो । किनकि आफूबाहेक अरू कसैले दिँदैनन्, दिनै सक्दैनन् । दिए पनि दिएजस्तो मात्र गरेका हुन्छन् वास्तवमा दिएका हुँदैनन् । जब दिनै सक्दैनन् भने आशा किन गर्ने ?
तपाईँ भन्नुहोला अरूले के गर्छन् छाडिदिऊँ । प्रकृतिले त दिएकै हुन्छ नि ? त्यो पनि रूपमा मात्र हो । हो, सरसर्ती हेर्दा देखिने त्यही हो प्रकृतिले दिन्छ, दिएको छ तर, उसले पनि विना स्वार्थ दिएको हुँदैन, केही पाउनकै लागि दिएको हुन्छ । आउनुस् यसलाई केही व्यावहारिक उदाहरणबाट बुझ्ने प्रयास गरौँ ।
मानौँ हामीलाई प्रकृतिले हावा दिएको छ । हो, रूपमा त त्यही हो प्रकृतिले हावा सित्तैमा दिएको देखिन्छ तर, विना शर्तमा दिएको भने हुँदैन । केही पाउन नै दिएको हुन्छ । हावा दिनु भनेको जीवन दिनु हो, अक्सिजन दिनु हो । उसले यो जीवन र अक्सिजन त्यतिबेला दिएको हुन्छ जति बेला तपाईंले उसलाई शुद्ध राख्ने वचन दिनुभएको हुन्छ । होइन भने त्यही हावा प्रदूषित बनेर तपाईँलाई नै दुःख दिने गर्छ ।
पानीको कुरा पनि त्यस्तै हो । उसले हामीलाई पानी त दियो तर, निरपेक्ष दिएको भने हुँदैन । उसलाई जस्ताकोतस्तै वा शुद्ध राख्ने अपेक्षा राखेर नै दिएको हुन्छ । जब तपार्ईँले उसलाई शुद्ध राख्ने वातावरण दिनुभयो उसले पनि जीवन दियो । त्यस्तो वातावरण दिन सक्नुभएन भने उसले पनि दिएन र त्यही पानी दूषित बनेर तपाईँकै जीवन चौपट पारिदिने गर्छ । माटोको अवस्था पनि त्यस्तै हो । उसले माटो दियो तर, सित्तैमा भने दिएन । कुनै अपेक्षा राखेर नै दिएको हुन्छ । उसको अपेक्षा पूरा गर्नुभयो त्यही माटो उर्बर बनेर तपाईँको चाहना पूरा गरिदियो । पूरा गर्नुभएन त्यही माटो दूषित बनेर दुःख दियो । रुखबिरुवाको अवस्था पनि त्यस्तै हो, पशुपंक्षी तथा कीटपतङ्गको अवस्था पनि त्यस्तै हो ।
यसरी हेर्दै जानुभयो भने, केलाउँदै जानुभयो भने सर्वत्र यही नियमले काम गरेको पाउनुहुनेछ । सित्तैमा कसैले केही दिएको हुँदैन । यहाँसम्म कि तपार्ईँकै छाँयाले समेत केही अपेक्षा राखेर नै साथ दिएको हुन्छ । तपाईँले उज्यालो दिनुभयो उसले पनि साथ दियो । दिन सक्नुभएन उसले दिएन वा छाडिदियो । यही हो जीवनको यथार्थ । जब कसैले पनि केही दिँदैनन्, दिए पनि केही पाउन दिएका हुन्छन् भने तिनीहरूसित किन आशा गर्ने, केको आशा गर्ने ?
त्यसैले आफैँसँग आशा गर्नुस्, आफ्नै जीवनसँग आशा गर्नुस् । केही दिन्छ भने यसैले दिन्छ, कहीँ पुर्याउँछ भने यसैले पुर्याउँछ । यसबाहेक अरू कसैसँग आशा गर्नु भनेको मरुभूमिमा पानी खोज्नुजस्तै हो । आफैँसँग आशा गर्नुभयो, केही पाउनुभयो र सुखी हुनुभयो । अरूसँग आशा गर्नुभयो केही पनि पाउनुभएन र दुःखी हुन पुग्नुभयो । यसै अर्थमा आशावाद र निराशावाद दुवै अतिवाद हुन पुगेको हो । अस्तु आजलाई यति नै ।