
कृष्णपुर नगरपालिका–२ का १ सय ८ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई छाता उपलब्ध गराइएको छ ।
वडा कार्यालयको चालू आवको स्वीकृत १ लाख रुपैयाँ बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिकसँगै २५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई छाता प्रदान गरिएको हो ।
'घाम पानीका बेला छाता ओडेर गन्तव्यमा जानका लागि र वर्षातका बेला नागरिक सुरक्षा भत्ता बुझ्न जाँदा सहजता होस् भनेर ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई यस वर्षको बजेटबाट छाता खरिद गरेर दिएका छौं,' वडाध्यक्ष अर्जुन साउदले भने, 'अर्को वर्ष छडी, रेडियो टर्चलाइट दिने योजना छ, गएका वर्षहरूमा न्यानो कपडा, कम्बललगायत ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराएका थियौं ।'
ज्येष्ठ नागरिक समाजका गहना भएकाले राष्ट्र निर्माणमा उनको अहम् भूमिका रहेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिकलाई पारिवारिक वातावरणमा रमाउने कार्यसँगै माया र हौसला दिनुपर्ने बताए ।
'पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई यसअघि ह्विल चेयर घरमै पुगेर प्रदान गरिएका छौं,' उनले भने, 'ह्विल चेयरको आवश्यकता भएका अरूलाई आउँदो बजेटमा व्यवस्था गरी दिन्छौं ।'
वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले पहिले भत्ता बुझ्नकै लागि वडा कार्यालय र नगरपालिका कार्यालय धाउनुपर्ने अवस्था थियो ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले निकै सास्ती खेप्नु पर्दथ्यो ।
त्यही असुविधालाई ध्यान राखेर टोल टोलमै भत्ता उपलब्ध गराउने, सोही ठाउँमा परिचय पत्र नवीकरण गर्ने कार्य सँगै स्वास्थ्य बीमा निःशुल्क रूपमा गर्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष साउदले बताए ।
यो कार्यसँगै भत्ता बुझ्न आएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरी चिकित्सकीय परामर्श र निःशुल्क रूपमा औषधि उपलब्ध गराउने कार्य गरिँदै आएको वडाध्यक्ष साउदको भनाइ छ ।
दृष्टीविहीन करनसिंह साउदले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क रूपमा प्रदान गर्दै आएको सेवाबाट निकै खुसी रहेको बताए ।
'स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएपछि घरदैलोमै सेवा पाएका छौं,' उनले भने, आत्मनिर्भर बनाउनका लागि आयमूलक तालिम पाइएको छ, न्यानो लुगा, कम्बल, छाता लगायतका सामान प्रत्येक वर्ष पाएका छौं ।'