१० साउन २०८३, आइतबार

अस्पताललाई निशाना बनाएर नाइजेरियामा बम विस्फोट: १८ जनाको मृत्यु, ४८ घाइते

असार १६, २०८१
काठमाडौं
अस्पताललाई निशाना बनाएर नाइजेरियामा बम विस्फोट: १८ जनाको मृत्यु,  ४८ घाइते

बोर्नो–नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ घाइते भएका छन् ।

घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएकाे नाइजेरियाको आपतकालीन सेवालाई उद्धृत गर्दै सीएनएनले समाचारमा उल्लेख गरेको हो । 

स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा)का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताए । 

उनले भने, ‘पहिलो विस्फोट शनिबार दिउँसो ३ बजे विवाह समारोहमा भएको थियो । त्यसपछि दोस्रो विस्फोट जनरल अस्पताल ग्वोजामा भएको थियो भने तेस्रो विस्फोट अन्त्येष्टि समारोहमा भएको थियो ।’  

बोर्नो राज्य प्रहरी प्रवक्ता नाहुम केनेथ दासोका अनुसार ग्वोजामा भएको तीनवटा विस्फोटमध्ये एउटा पिठ्युँमा बच्चा बोकेकी एक महिलाले विवाह समारोहमा घरेलु विस्फोटक उपकरण (आईईडी) विस्फोट गराएकी हुन् ।

आत्मघाती आक्रमणकारीले सोही शहरको अस्पताललाई पनि निशाना बनाएको बताइएको छ । विवाह समारोहमा भएको विस्फोटका पीडितहरूको अन्त्येष्टिमा पनि फेरि अर्को आक्रमण गरेको डब्लूआईओएनले जानकारी गराएको छ । 

सेमाका महानिर्देशक बेकिन्डो साइदुले बालबालिका, वयस्क र गर्भवती महिलासहित १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

साइदुले गम्भीर घाइते भएका १९ जनालाई क्षेत्रीय राजधानी मैदुगुरी उपचारका लागि लगिएको छ ।
 
क्यामरुनको सीमापार रहेको नाइजेरियाली सहरमा एक दशकभन्दा बढी समयदेखि हिंसा हुँदै आएको छ । बोको हरामले सन् २०१४  मा ग्वोजालाई कब्जा गरेको थियो  तर त्यसको एक वर्षपछि चाडेली सेनाको सहयोगमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्