
काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वरमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा अधिकारीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरेको हो ।
अधिकारीले भारतको कोलकताबाट इन्जिनियरिङ पास गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड (सहायक स्तर प्रथम प्राविधिक) पदमा नियुक्ति लिँदा उनले नक्कली प्रमाणपत्र पेस गरेका थिए ।
अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।