
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लोपटक भएको सुन तस्करीको अनुसन्धान सकिएको जनाएको छ । ब्युरोले सोमबार पत्रकार सम्मेलन गरेर अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।
ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष सीईबीले निकालेको छ ।
सीआईबीले यो तस्करी प्रकरणमा २५ जनालाई पक्राउ गरेको र तीमध्ये २४ जना पूर्पक्षका लागि थुनामा रहेको जानकारीसमेत दिएको छ । तस्करीमा संलग्न केही व्यक्ति अझै फरार छन् ।
सीआईबीका अनुसार ६० किलो तस्करी गर्ने विभिन्न समूहले ३ हजार १९४ किलो सुन तस्करी गरेको पाइएको छ । उक्त सुनको मूल्य ३० अर्ब ८२ करोड २२ लाखभन्दा धेरै हुने ब्युरोले जनाएको छ ।
यसअघि पहिलो चरणको अनुसन्धान पूरागरी गत असोज १ गते २९ जनाविरुद्ध ३ अर्ब ३० करोड ३० लाख रुपैयाँ बिगो तथा जरिवानाको मागसहित जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा मुद्दा समेत चलिसकेको छ ।